पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो

काठमाडौं । पोखरा महानगरपालिकाले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी तथा पहिरो प्रभावित परिवारका लागि पाँच ट्रक राहत सामग्री पठाएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा सङ्कलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित प्याकेज बनाएर उत्तरगया पठाइएको जानकारी दिए । उनका अनुसार एक परिवारलाई आवश्यक पर्ने भाँडाकुँडा, लत्ताकपडा, सिरक–ब्ल्याङ्केट, नुन, चामल, चम्चा, गिलास, प्रेसर कुकरलगायतका सामग्री पाँचवटा बोरामा प्याक गरिएको छ ।

यसरी १ सय ६५ घरपरिवारका लागि आवश्यक राहत सामग्री तयार पारेर पाँच ट्रकमार्फत पठाइएको हो । रसुवाका विभिन्न क्षेत्रमा अझै राहत सामग्रीको आवश्यकता रहेको र धादिङ तथा नुवाकोटतर्फ तुलनात्मक रूपमा धेरै सामग्री पुगिसकेको जानकारी पाएपछि स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी उत्तरगयालाई राहत सामग्री पठाइएको प्रमुख आचार्यले बताए ।

राहत सामग्री वितरणका लागि पोखरा महानगरपालिकाका २३ जना नगर प्रहरी तथा कर्मचारीहरू समेत टोलीमा सहभागी भएका छन् । टोलीले पालिकाले तोकेका स्थान तथा आवश्यकता पहिचान भएका परिवारसम्म आफैँ पुगेर राहत सामग्री वितरण गर्नेछ । भौगोलिक तथा सडकको अवस्थाका कारण पोखराबाट हेटौँडा हुँदै राहत सामग्री उत्तरगया पठाइएको महानगरले जनाएको छ ।

यसअघि विपद् भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मी र नगर प्रहरीसहितको दुईवटा टोली प्रभावित क्षेत्रमा पठाएको प्रमुख आचार्यले बताए । ती टोलीले गल्छीदेखि तल्लो क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य उपचारको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेर फर्किएको उनले जानकारी दिए ।

महानगरपालिकाले विपद्को सुरुवाती दिनमै कर्मचारी तथा जनप्रतिनिधिका तर्फबाट ४५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । पोखराका विभिन्न समाजसेवी तथा सङ्घसंस्थाबाट सङ्कलित राहत सामग्री पनि प्रदर्शनी केन्द्रमा जम्मा गरिएको थियो । सङ्कलित सामग्रीमध्ये अधिकांश सामग्री पाँच ट्रकमार्फत उत्तरगया पठाइएको आचार्यले बताए ।

प्रमुख आचार्यले भने, ‘घटना भएको भोलिपल्टै पोखरा महानगरपालिकाले स्वास्थ्यकर्मी र नगर प्रहरीसहितको टोली राहत, उद्धार तथा स्वास्थ्य उपचारका लागि प्रभावित क्षेत्रमा पठाएको थियो । टोलीले गल्छीदेखि तल्लो क्षेत्रमा राहत, उद्धार र स्वास्थ्य सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरेर फर्किएको छ । महानगरपालिकाले सुरुमै ४५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।’

औषधि भने नेपाली सेनामार्फत छुट्टै पठाइएको छ । विजयपुर ब्यारेकमार्फत औषधि प्रभावित क्षेत्रमा पठाइएको महानगरले जनाएको छ । राहत सामग्री पारदर्शी रूपमा वितरण गर्न प्रत्येक गाडीमा महानगरको वाकीटकी राखिएको र कुन सामग्री कहाँ तथा कसलाई वितरण गरियो भन्ने विवरणसहितको अभिलेख तयार पारिएको प्रमुख आचार्यले बताए ।

राहत तथा उद्धार टोलीलाई बिदाइ गर्दै आचार्यले प्रभावित नागरिकसम्म सामग्री सुरक्षित रूपमा पुर्याएर वितरण गर्न आग्रह गरे ।

Share News