अब खल्ती एपमै होटल, बस र उडान बुकिङ

काठमाडौं । आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । अब प्रयोगकर्ताले खल्ती एपबाटै नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँच तारे होटल बुकिङ र भुक्तानी गर्न सक्नेछन् ।

खल्तीका अनुसार यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सञ्चालनमा ल्याइएको हो । होटल बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित हुने भएकाले भुक्तानी पुष्टि भएपछि प्रयोगकर्ताले तत्काल बुकिङ पुष्टि प्राप्त गर्नेछन् ।

नयाँ सेवासँगै खल्तीले आन्तरिक उडान र बस बुकिङ गर्ने यात्रुलाई एउटै एपबाट गन्तव्यको होटल पनि बुक गर्न सकिने सुविधा दिएको छ । यससँगै खल्ती भुक्तानी सेवामात्र नभई सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने डिजिटल प्लेटफर्मका रूपमा विस्तार भएको कम्पनीले जनाएको छ ।

‘यात्रा अझ सजिलो, खल्तीमै’ अभियानअन्तर्गत सुरु गरिएको सेवाको अवसरमा खल्तीले विशेष अफर पनि ल्याएको छ । सुरुवाती अफर अवधिमा होटल बुक गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट छनोट हुने २० जनाले प्रत्येक बुकिङमा अधिकतम १ हजार ५०० रुपैयाँसम्म ५० प्रतिशत क्यासब्याक पाउनेछन् ।

आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढ्दै गएको समयमा उडान, बस र होटल बुकिङ एउटै एपबाट गर्न सकिने सुविधाले यात्रुको अनुभव थप सहज बनाउने बताए । उनका अनुसार ‘खल्ती होटल्स’ कम्पनीको ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन रणनीतिको महत्वपूर्ण हिस्सा हो ।

स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईंले यस साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म पहुँच दिलाउने र यात्रुलाई प्रमाणित तथा भरपर्दो बासस्थान छनोट गर्न सहज हुने बताए ।

खल्ती होटल्स सेवा खल्ती एपको ट्राभल तथा इन्टरटेनमेन्ट खण्डमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बुकिङसम्बन्धी सहयोगका लागि प्रयोगकर्ता र होटल व्यवसायी दुवैका लागि ग्राहक सहायता सेवा पनि उपलब्ध रहनेछ ।

Share News