काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्म सडक निर्माणका नाममा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जना र चारवटा कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका अनुसार सडक निर्माणका लागि बोलपत्र आह्वान र बोलपत्रको आशयसम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्नेमा सूचना लुकाउने उद्देश्यले वास्तविक रूपमा सूचना प्रकाशन नगरी जनकपुर टुडे राष्ट्रिय दैनिकको एक प्रतिमा मात्र सूचना प्रकाशित गरिएको देखिएको छ।
त्यसैलाई आधार बनाएर धनौजी गाउँपालिकामा अभिलेख राखी २ लाख ४९ हजार ५०४ रुपैयाँ भुक्तानी गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, गौरदाहादेखि लखौरीसम्मको सडक निर्माण योजनामा कुनै काम नै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी २४ लाख १५ हजार १२० रुपैयाँ साइन कन्ट्रक्सनलाई भुक्तानी गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले दुवै घटनामा गरी कुल २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो कायम गरेको छ ।
आयोगका अनुसार यस कार्यमा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, लेखापाल राधेश्याम राय, खरिदार अरुण कुमार यादव, सि.अ.हे.व. उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिल कुमार साहु संलग्न रहेको आरोप छ ।
यस्तै, अमृत मिडिया प्राइभेट लिमिटेड तथा प्रोप्राइटर राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक बृज कुमार यादव, साइन कन्ट्रक्सन धनुषा तथा प्रोप्राइटर विकास प्रसाद यादव, साथै एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि., प्रोप्राइटर राम नारायण साह र असिस्टेन्ट सब इञ्जिनियर शुभाष कुमार महरा विरुद्ध पनि आरोपपत्र दायर गरिएको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखापाल राधेश्याम रायका हकमा २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरेको छ ।
त्यस्तै, खरिदार अरुण कुमार यादव, सि.अ.हे.व. उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिल कुमार साहुविरुद्ध २४ लाख १५ हजार १२० रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ ।
अख्तियारले सूचना प्रकाशनसम्बन्धी कार्यमा संलग्न अमृत मिडिया प्रालि र राजेन्द्र यादव तथा जनकपुर टुडे मिडिया ग्रुप प्रालि र प्रधान सम्पादक बृज कुमार यादवलाई २ लाख ४९ हजार ५०४ रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरेको छ ।
साइन कन्ट्रक्सन र प्रोप्राइटर विकास प्रसाद यादव तथा एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि, प्रोप्राइटर राम नारायण साह र असिस्टेन्ट सब इञ्जिनियर शुभाष कुमार महराविरुद्ध पनि २४ लाख १५ हजार १२० रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।
अख्तियारले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, ९, १९ र २२ लगायतका व्यवस्थाअन्तर्गत कसुर भएको दाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।