काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भदौ १७ गते प्रतिनिधिसभामा गरेको सम्बोधनअनुसार भदौको अन्तिमसम्म निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरेपछि रातिको समयमा समेत काम भइरहेको छ । दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य भइरहेको जनाइएको छ ।
नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै भागमा समेत काम भइरहेको छ । साथै, पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन गर्ने काम पनि सँगसँगै अघि बढाइएको छ ।
भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो । त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
त्यसक्रममा प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्रीबीच सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउने विषयमा छलफलसमेत भएको थियो ।
त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए । अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई पहिलो प्राथमिकतामा राखिएको हो ।
सरकारले निर्माण कार्यलाई तीव्रता दिँदै भदौभित्रै कृष्णभीरको अवरुद्ध सडकमा यातायात सञ्चालन गर्ने लक्ष्य राखेको छ ।