बाढीपीडितलाई एएचजेड र बंगलादेशको डीएमएच फाउन्डेसनले बाँडे राहत

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउन्डेसन), बंगलादेशले संयुक्त रूपमा राहत वितरण गरेका छन् ।

बाढीका कारण सयौँ परिवार प्रभावित हुनुका साथै घर, खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्रीमा क्षति पुगेपछि राहतको आवश्यकता बढिरहेका बेला संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न तथा आधारभूत आवश्यकताका सामग्री वितरण गरेका हुन् ।

राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या तथा आवश्यकताबारे जानकारीसमेत लिएको थियो ।

अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो। राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीयस्तरमा समन्वयको जिम्मेवारी भने एएचजेड एसोसिएट्स नेपालले लिएको थियो ।

राहत अभियानबारे प्रतिक्रिया दिँदै डीएमएच फाउन्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन ए.के.एम. गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए ।

उनले मानवताको कुनै सीमा नहुने भन्दै कठिन परिस्थितिमा रहेका मानिसको साथमा उभिनु महत्वपूर्ण रहेको बताए । नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने अवसर पाएकोमा आफूहरू गौरवान्वित रहेको उनको भनाइ थियो ।

फाउन्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरुल इस्लाम र गोलाम मुर्तुजा लगायतको मार्गदर्शन तथा सहयोगमा राहत अभियान सञ्चालन गरिएको जनाएको छ ।

राहत अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर शोबिन थापाले गरेका थिए । काठमाडौंस्थित मुख्य कार्यालयबाट परिचालित राहत टोलीमा शोबिन थापासहित अर्चना यादव, सजल पोखरेल, रिषभ सिंह, प्रज्ञा मगर, दिवेश अधिकारी, अम्बिका गिरी, मेघा बज्राचार्य र योगेन्द्र साउद सहभागी थिए ।

टोलीले राहत सामग्री व्यवस्थापनदेखि प्रभावित परिवारको पहिचान, प्रत्यक्ष वितरण तथा स्थानीयस्तरमा आवश्यक समन्वयको काम गरेको थियो ।

कन्ट्री म्यानेजर थापाले राहत अभियान सामग्री वितरणमा मात्र सीमित नभएको बता ए। विपद्बाट प्रभावित मानिसहरूको अवस्था बुझ्ने, उनीहरूको कुरा सुन्ने र कठिन परिस्थितिमा आफूहरू एक्लो नभएको अनुभूति गराउनु पनि अभियानको उद्देश्य रहेको उनले बताए ।

Share News