काठमाडौं । यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
उक्त रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
यसका साथै कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउ समेत सहयोग गरेको जनाएको छ ।
अति प्रभावित क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा आवश्यक राहत सामग्रीका रूपमा चाउचाउ पठाएर सम्बन्धित निकायमार्फत प्रभावित नागरिकलाई वितरण गरिएको कम्पनीले जनाएको छ ।
आवश्यकता परेमा थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको कम्पनीले जनाएको छ ।
यशोदा ग्रुपले विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक पर्ने अन्य सहयोगका लागि समेत पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।