काठमाडौं । रसुवा र भोटेकोशीसहितका क्षेत्रमा गएको विनाशकारी बाढी तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले विपद् व्यवस्थापनका लागि तत्काल संसदीय विशेष समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
बैठकमा सहभागी विपक्षी दलहरूले विपद्को अवस्था गम्भीर रहेको दलहरूको बैठकले ठहर गरेको छ । दलहरूको बैठकले राजनीतिक मतभेद र दलगत स्वार्थलाई तत्कालका लागि पन्छाएर उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम प्रभावकारी बनाउन सरकारमाथि आवश्यक दबाब सिर्जना गर्ने र संसद्लाई समेत सक्रिय बनाउनुपर्ने दलहरूले ठहर गरेका छन् । विपद् व्यवस्थापनमा देखिएका कमजोरी तथा सरकारको तयारीबारे संसदीय निगरानी आवश्यक रहेको भन्दै विशेष समिति गठनको माग अघि सारिएको एक नेताले जानकारी दिए ।
बैठकमा रसुवा, भोटेकोशीलगायत बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतको प्रगति र प्रभावित नागरिकको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो ।
विपद्को समयमा राजनीतिक विवादलाई प्राथमिकता दिनुभन्दा राष्ट्रिय संकटको सामना गर्न दलहरूबीच सहकार्य आवश्यक रहेको विपक्षी दलहरूको निष्कर्ष छ । बैठकले प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।