प्रधानमन्त्री राहत कोषमा नेपाल टेलिकमले संस्थागत रूपमा दियो १० करोड

कर्मचारीहरूको तर्फबाट पनि २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ उद्धार कोषमा ।

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना तथा नेपाल टेलिकमका सचिव एवं सञ्चालक समिति अध्यक्ष राजेन्द्रकुमार पौडेललगायतको उपस्थिति थियो ।

यसअघि नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट पनि २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ उद्धार कोषमा सहयोग गरिसकिएको कम्पनीले जनाएको छ ।

बाढीपछि कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डेटा र एसएमएस सेवा समेत उपलब्ध गराएको थियो ।

नेपाल टेलिकमले विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

कम्पनीले बाढी, पहिरो, भूकम्प तथा कोभिड–१९ महामारीलगायतका विपद्का समयमा विगतदेखि नै आर्थिक तथा अन्य सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सञ्चार सेवा निरन्तरता र राहत–उद्धार कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
 

Share News