काठमाडौं । रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीले विशेष तालिम प्राप्त केनाइन (स्निफर डग) परिचालन गरेको छ ।
बाढी, पहिरो तथा भग्नावशेषमा फसेका र हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले विशेष तालिम प्राप्त कुकुर परिचालनलाई तीव्रता दिएको हो ।
केनाइनको प्रयोगले कठिन भूभाग, भग्नावशेष तथा माटोमा पुरिएका व्यक्तिको गन्ध पहिचान गरी खोजी कार्यलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुगेको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र चितवनलगायतका क्षेत्रमा नेपाल प्रहरीले केनाइनको सहयोगमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ ।
रसुवामा जर्मन शेफर्ड ‘जम्बो’ र बेल्जियन शेफर्ड ‘रक्की’, नुवाकोटमा ल्याब्राडोर ‘लियो’ र ‘कालु’ तथा चितवनमा जर्मन शेफर्ड ‘दिप्सी’लाई खोजी कार्यमा परिचालन गरिएको छ।
प्रवक्ता काफ्लेका अनुसार भग्नावशेष तथा माटोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइन प्रभावकारी हुन्छन् । ठूलो क्षेत्रलाई छोटो समयमा स्क्यान गर्न सकिने भएकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
उद्धारकर्मी वा उपकरण पुग्न कठिन भूभागमा समेत केनाइनको प्रयोग प्रभावकारी हुने भएकाले कठिन स्थानमा फसेका वा भग्नावशेषमा पुरिएका व्यक्तिको खोजीमा प्रहरीले यसको प्रयोग बढाएको उनले बताए ।
नेपाल प्रहरी केनाइन कार्यालयबाट केनाइनसहित परिचालित टोलीले रसुवाको टिमुरे, घट्टेखोलालगायतका क्षेत्रमा खोजी तथा उद्धार गरेको थियो । उक्त टोलीले टिमुरेबाट दुईवटा शव र एउटा शरीरको अंग फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, नुवाकोटको विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, मैलुङ हाइड्रोपावर–३ए, मैलुङ हाइड्रोपावर–३बी, ढुंगे, देवीघाट, बेत्रावती, भैंसे र बट्टारलगायतका क्षेत्रमा पनि केनाइनसहितको टोली परिचालन गरिएको थियो ।
खोजीका क्रममा मैलुङ हाइड्रोपावर–३बीको कर्मचारी आवासबाट सानो शरीरको अंग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेला परेको थियो ।
प्रदेश प्रहरी कार्यालय बागमतीको केनाइन शाखाबाट परिचालित टोलीले नारायणी पुल आसपास, देवघाट तथा दमौलीको गोलघाट क्षेत्रलगायतका स्थानमा समेत खोजी गरेको थियो । उक्त टोलीले दमौलीको गोलघाट क्षेत्रबाट दुईवटा शव फेला पारेको जनाएको छ ।
भौगोलिक अवस्था र मौसम चुनौती
विपद्को समयमा केनाइन परिचालनमा भौगोलिक जटिलता तथा वातावरणीय अवस्थाले चुनौतीसमेत थप्ने गरेको छ । अत्यधिक गहिरो वा बाक्लो माटोमा गन्ध पहिचान गर्न कठिन हुने तथा पर्याप्त तालिम प्राप्त केनाइन र ह्यान्डलरको सीमितताले खोजी कार्यमा असर पार्न सक्ने काफ्लेको भनाइ छ ।
हावा, वर्षा, तापक्रम तथा वातावरणीय प्रदूषणले समेत केनाइनको गन्ध पहिचान गर्ने क्षमतामा प्रभाव पार्न सक्छ । त्यसका बाबजुद विषम परिस्थितिमा बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि केनाइन र ह्यान्डलर निरन्तर परिचालित भइरहेका छन् ।
रसुवामा परिचालित केनाइनका ह्यान्डलरका अनुसार भौगोलिक कठिनाइका कारण प्रभावित क्षेत्रमा पुग्न चुनौती रहे पनि खोजी कार्यलाई निरन्तरता दिइएको छ ।
नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण बस्नेतले प्रभावित क्षेत्र धेरै ठूलो हुँदा खोजी कार्य थप चुनौतीपूर्ण बन्ने बताए । उनका अनुसार केनाइनलाई करिब ३० मिनेट काम गराएपछि १५ देखि २० मिनेटसम्म आराम दिने दिनु पर्छ ।
दलदले हिलो, रातको समयमा पर्याप्त प्रकाशको अभाव तथा प्रतिकूल वातावरणका कारण पनि खोजी कार्य प्रभावित हुने उनले बताए ।
नेपाल प्रहरीले अपराध अनुसन्धानसँगै बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का समयमा समेत केनाइन युनिटलाई सक्रिय रूपमा परिचालन गर्दै आएको छ ।
विशेष तालिम प्राप्त कुकुरको गन्ध पहिचान गर्ने क्षमताले विपद्मा हराइरहेका तथा भग्नावशेषमा पुरिएका व्यक्तिको खोजीमा महत्त्वपूर्ण सहयोग पुर्याउँदै आएको प्रहरीले जनाएको छ ।