काठमाडौं । गतवर्ष भदौ २४ गते आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपरमार्केटको धरानस्थित स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ ।
आगजनी भएको ठीक एक वर्षकै दिन भाटभटेनीले धरान स्टोरलाई पुनः सञ्चालनमा ल्याएको हो । स्टोरको पुनः शुभारम्भ भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले गरेकी छन् ।
स्टोर पुनः सञ्चालनमा आएसँगै भाटभटेनी परिवारमा खुसी छाएको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताए ।
उनका अनुसार ठूलो क्षतिका बाबजुद छोटो समयमै स्टोरलाई पुनः सञ्चालनमा ल्याउन सफल हुनु भाटभटेनीका लागि महत्वपूर्ण उपलब्धि हो ।
‘आगजनीबाट ध्वस्त भएको स्टोरलाई पुनः निर्माण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याउन पाउँदा भाटभटेनी परिवार नै खुसी छ,’ पौडेलले भने ।
भाटभटेनीले पुनः सञ्चालनमा आएको धरान स्टोरबाट ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ग्राहकको सुविधालाई केन्द्रमा राख्दै स्टोरलाई थप व्यवस्थित र आधुनिक बनाइएको कम्पनीको भनाइ छ ।
‘ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् छ,’ पौडेलले भने ।
एक वर्षअघि भएको आगजनीका कारण स्टोरमा ठूलो क्षति पुगेको थियो । त्यसपछि पुनर्निर्माणको काम अघि बढाइएको थियो । अहिले पुनः स्टोर सञ्चालनमा आएसँगै धरानका ग्राहकलाई नियमित सेवा दिन थालिएको कम्पनीले जनाएको छ ।
भाटभटेनीले स्टोर पुनः सञ्चालनमा ल्याउने क्रममा साथ, सहयोग र विश्वास गर्ने ग्राहक, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।
‘यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं,’ कम्पनीले भनेको छ, ‘आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौं ।’