काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर र बढुवा लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद् (बोर्ड अफ हाईस्कुल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लगाएको हो ।
आयोगका अनुसार केसीले सोही प्रमाणपत्रका आधारमा तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । त्यसपछि बढुवा र पदोन्नतिका क्रममा पनि त्यही प्रमाणपत्र पटक–पटक पेस गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
अख्तियारका अनुसार केसी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए । यस क्रममा उनले पद, हैसियत, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको दाबी छ ।
अख्तियारले केसीको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भ्रष्टाचारजन्य कसुर भएको निष्कर्ष निकाल्दै कैद र जरिवानाको सजाय मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।