काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको अवस्थालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी, एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।
यस व्यवस्थाबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत समेत ग्यास प्राप्त गर्न सक्नेछन् । बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।
मन्त्री यादवले उक्त व्यवस्था काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् । साथै, उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गर्ने पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेकी छन् ।