काठमाडौं । एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उठेको आक्रोशले नेपालको राजनीतिको स्वरूप मात्रै बदलेन, राज्यका संरचनासँगै निजी क्षेत्रका कार्यालय र बैंकिङ पूर्वाधारमा समेत क्षति पुर्यायो । आन्दोलनकारीको निशानामा परेका बैंकका शाखा, एक्सटेन्सन काउन्टर र एटीएममा तोडफोड, आगजनी र लुटपाट भयो । कतिपय शाखा खरानी बने, कतिपय एटीएम काम नलाग्ने अवस्थामा पुगे । केही ठाउँमा नगद र सुनसमेत लुटियो ।
आज त्यही आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा सरकारले ‘जेनजी सहिद दिवस’ मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ । तर, आन्दोलनको त्यो उथलपुथलबाट बैंकिङ क्षेत्रले बेहोरेको क्षतिको हिसाब भने अझै पूर्ण रूपमा टुंगिएको छैन । आन्दोलनका क्रममा बैंकिङ क्षेत्रमा सबैभन्दा बढी देखिएको क्षति एटीएम मेसिनमा थियो । विभिन्न बैंकका दर्जनौं एटीएममा तोडफोड भए । तर, अधिकांश एटीएमबाट नगद चोरी हुन पाएन ।
एनआईसी एशिया बैंकका १४ वटा एटीएम, पाँचवटा शाखा कार्यालय र छवटा काउन्टरमा क्षति पुगेको थियो। भौतिक संरचना र मेसिनमा ठूलो क्षति भए पनि नगद चोरी नभएको बैंकले जनाएको छ । विराटनगरको भाटभटेनी परिसरमा रहेको एनआईसी एशियाको एटीएम पनि आन्दोलनको क्षतिबाट अछुतो रहेन । मेसिन पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो । तर, त्यसमा रहेको नगद भने सुरक्षित रह्यो । एटीएम पुनः जडान गर्न करिब ९ लाख रुपैयाँसम्म खर्च लागे पनि बैंकले बीमा दाबीमार्फत उक्त रकम असुल गरिसकेको जनाएको छ ।
इटहरी उपमहानगरपालिकामा रहेको एनआईसी एशियाको एक्सटेन्सन काउन्टर भने पूर्ण रूपमा क्षतिग्रस्त भयो । तर, काउन्टरमा नगद नरहेकाले बैंकले प्रत्यक्ष नगद क्षति बेहोर्नुपरेन। काउन्टर रहेको संरचना उपमहानगरपालिकाले उपलब्ध गराएको थियो । त्यसैले भवनको क्षतिको आर्थिक भार पनि बैंकले प्रत्यक्ष रूपमा बेहोर्नुपरेन। केही ल्यापटप तथा अन्य सामग्रीमा भने करिब एक-दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको बैंकले जनाएको छ ।
विराटनगर र बुटवलका भाटभटेनी परिसर, हेटौंडा, भैरहवा विमानस्थल, कमलादीको आईटी प्लाजा तथा हिल्टन होटल परिसरलगायतका स्थानमा रहेका विभिन्न बैंकका एटीएममा पनि क्षति पुगेको थियो । तर, तीमध्ये अधिकांशबाट नगद चोरी हुन पाएन ।
नेपाल बैंकको कलंकीस्थित मालपोत कार्यालयमा रहेको काउन्टर आगलागीबाट पूर्ण रूपमा नष्ट भयो । एटीएमसमेत क्षतिग्रस्त भयो । तर, काउन्टरमा नगद नरहेकाले बैंकले ठूलो नगद क्षति बेहोर्नुपरेन । काउन्टर पुनः सञ्चालनमा ल्याइसकिएको छ भने क्षतिग्रस्त एटीएम पनि सञ्चालनमा आइसकेको बैंकले जनाएको छ ।
हिमालयन बैंकको बत्तीसपुतली शाखाको अवस्था भने अझ गम्भीर थियो । शाखा नै पूर्ण रूपमा जलेर खरानी भयो । तर, शाखामा रहेको लकर र भल्ट भने सुरक्षित रहे। क्षतिग्रस्त शाखा तीन महिनाअघि नै पुनः सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
तर, सबै बैंकको अवस्था उस्तै थिएन । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा भएको लुटपाटले बैंकिङ क्षेत्रमै ठूलो प्रश्न खडा गर्यो। त्यहाँ नगदसँगै सुनसमेत चोरी भयो ।
बैंकका अनुसार बानेश्वर शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगद र १८ केजी सुन लुटिएको थियो । उक्त सुनको मूल्य करिब ३२ करोड ७० लाख रुपैयाँ बराबर रहेको बैंकले जनाएको छ । भैरहवा शाखामा भने १ लाख २८ हजार रुपैयाँ बराबरको नगद जलेर नष्ट भएको थियो ।
आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकका करिब एक दर्जन शाखा, काउन्टर तथा एटीएममा क्षति पुगेको थियो । बैंकले क्षतिको विवरण संकलन गरी बीमा कम्पनीसमक्ष क्षतिपूर्तिको दाबी पेस गरेको छ । नगद तथा सुन-चाँदीमा भएको क्षतिसम्बन्धी आवश्यक कागजात संकलन गरी दाबी प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । तर, बीमा दाबीको प्रक्रिया र सबै पक्षसँगको सेटलमेन्ट अझै पूर्ण रूपमा टुंगिएको छैन ।
बानेश्वर शाखाबाट लुटिएको सुनको विषय बैंक र बीमा कम्पनीबीचको हिसाबमा मात्र सीमित छैन । सुन कर्जा लिएका ग्राहकसँगको सेटलमेन्ट पनि चुनौती बनेको छ ।
बैंकले गरेको निर्णयप्रति केही ग्राहक सन्तुष्ट छैनन् । उनीहरूको माग हालको बजार मूल्यअनुसार क्षतिपूर्ति पाउनुपर्ने भन्ने छ । विशेषगरी सुनको साइज र मूल्यांकनको विषयमा ग्राहकको असन्तुष्टि रहेको बैंकले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको पाँच प्रतिशत कट्टीको नियमअनुसार सेटलमेन्ट गर्ने विषयमा सम्झौता गरिएको बैंकले जनाएको छ। बीमा दाबीका लागि पनि यही आधार प्रयोग गरिएको छ । बैंकका अनुसार सुन कर्जा लिएका २२६ जनामध्ये १२६ जनाले सेटलमेन्ट गरेर आफ्नो प्रक्रिया टुंग्याइसकेका छन् । बाँकी ग्राहकसँगको सेटलमेन्ट प्रक्रिया भने जारी छ ।
यसरी एक वर्ष बितिसक्दा पनि आन्दोलनबाट सिर्जना भएको आर्थिक क्षतिको एउटा ठूलो हिस्सा कागजी प्रक्रिया, बीमा दाबी र ग्राहकसँगको सम्झौताको चरणमै छ ।
आन्दोलनले बैंकका भवन र मेसिन मात्रै तोडेन, बैंकमा काम गर्ने मानिसको जीवनसमेत प्रभावित बनायो । कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत सहयोगी कर्मचारी अशोक श्रेष्ठ काम गरिरहेको अवस्थामा गोली लागेर घाइते भए । स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको समयमा भएको हुलदङ्गाका क्रममा चलेको गोली उनको टाउकोमा लागेको बैंकले जनाएको छ । गोली कसले चलाएको थियो भन्ने स्पष्ट हुन सकेन । तर, उनी बैंकको कम्पाउन्डभित्रै काम गरिरहेका थिए । श्रेष्ठलाई तत्काल अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गरी गोली निकालिएको थियो । उपचारपछि उनी खतरामुक्त अवस्थामा पुगे ।
जेनजी आन्दोलनका क्रममा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक र प्रभु बैंकलगायतका संस्थाका शाखा, काउन्टर तथा एटीएममा क्षति पुगेको थियो ।
ग्लोबल आईएमई बैंकको कान्तिपुर भवनस्थित सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा समेत आगलागीका कारण क्षति पुग्यो। विभिन्न सरकारी कार्यालयमा रहेका बैंकका राजस्व संकलन काउन्टर पनि प्रभावित भए ।चितवन र सर्वोच्च अदालत परिसरका एक-एक, पोखराका तीन तथा तुलसीपुरका दुई गरी सात काउन्टरमा क्षति पुगेको बैंकले जनाएको थियो ।
कुमारी बैंकको दुलेगौंडा शाखामा बाहिरबाट ढुंगामुढा हुँदा सिसा फुटेको थियो । हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम पनि क्षतिग्रस्त भएको थियो ।
माछापुच्छ्रे बैंकका भरतपुर मालपोत, सिंहदरबार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग परिसरमा रहेका एटीएममा क्षति पुगेको थियो । सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरको एटीएम र प्रभु बैंकको लैनचौर शाखासमेत तोडफोडमा परेका थिए ।
नेपाल बैंकका काँकडभिट्टा, गौरादह र ताप्लेजुङका तीन काउन्टर तथा एउटा एटीएममा क्षति पुगेको थियो । कृषि विकास बैंकको कीर्तिपुर शाखाको एटीएम तोडफोड भएको थियो भने लहानमा खाद्य संस्थानको डिपोमा भएको घटनाका क्रममा बैंकको शाखासमेत प्रभावित भएको थियो । धनगढी शाखाको गाडीमा पनि क्षति पुगेको थियो ।