सेनाद्वारा हेलिकोप्टरमार्फत ४ हजार ४० को उद्धार, २८३ विदेशी

काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरमार्फत २० जनाको उद्धार गरेको छ । मंगलबार बाढी प्रभावित जिल्लाका विभिन्न ठाउँबाट २० जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाले हालसम्म हेलिकोप्टरमार्फत ४ हजार ४० जनालाई उद्धार गरिसकेको छ । नेपाली ३ हजार ७५७ र विदेशी २ सय ८३ जनाको उद्धार गरेको सेनाले जनाएको छ ।
 
सेनाले रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावर हाउससम्म पुगी खोजी कार्य गरिरहेको छ ।

सेनाले संयुक्त टोलीले रसुवा भोटेकोशीजलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा १ एक जनाको शव फेला परेको जनाएको छ ।

सेनाका अनुसार लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य जारी रहेको छ ।

चिलिमेहाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले ४ वटा ६/ ६ मिटर लम्बाइका ठूला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिएको सेनाले उल्लेख गरेको छ ।

स्याफ्रुवेशीदेखि  चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म ह्याभी इक्वुपमेन्ट लैजानको लागि सडकमा रहेको ठुलो ढुङ्गालाई ब्लाष्टिङ्ग गरी हटाउने कार्य भएको छ । 

ठूला ढुंगा सम्म पुग्नका लागि ९५ मिटर बाँकी रहेको छ । वीन्च मेसिन र बकेट र बाट डेर्बिस हटाउने कार्य भइरहेको तथा संयुक्त टोलीबाट टनेलको १ सय १५ मि सम्म प्रवेश गरी खोजी कार्य भइरहेको छ ।

Share News