काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् ।
उनले आगामी ११ सेप्टेम्बर (शुक्रबार) नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार यसको जानकारी दिएका हुन् । उनका अनुसार भेटवार्ताको एजेन्डामा व्यापार तथा आर्थिक सहकार्य प्रमुख विषयका रूपमा रहनेछन् ।
पेस्कोभले शान्ति समाधानका लागि भइरहेका प्रयासमा भारतको सहयोगलाई रुसले स्वागत गर्ने पनि बताएका छन् ।
रुसी कच्चा तेल खरिद गर्ने देशमाथि अमेरिकाले १०० प्रतिशत अतिरिक्त भन्सार लगाउने प्रस्तावबारे पनि पेस्कोभले प्रतिक्रिया दिएका छन् । उनले यस्तो कदमलाई ‘अवैध र अस्वीकार्य’ बताएका छन् ।
यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङ १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने वा नहुनेबारे भने अझै स्पष्ट भइसकेको छैन ।