इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि करिब ३ हजार उडान प्रभावित, करिब साढे ३ लाख यात्रु अलपत्र

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि करिब ३ हजार उडान प्रभावित भएका छन् ।

विमानस्थलहरूको सञ्चालन दोस्रो दिन पनि बन्द रहँदा ३ लाख ४० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् ।

राजधानी जकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको अनाक क्राकाटाउ ज्वालामुखीमा शुक्रबार राति अबेरदेखि विस्फोट सुरु भएको थियो ।

विस्फोटपछि ज्वालामुखीबाट लाभाका फोहोरा निस्कन थालेका थिए भने ज्वालामुखीबाट निस्किएको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको थियो ।

जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समयअनुसार बिहान ६ बजे पुनः सञ्चालनमा ल्याउने योजना थियो । 

तर, विमानस्थल आसपासको हवाई क्षेत्रमा ज्वालामुखीको खरानी रहेकाले पुनः सञ्चालन गर्ने योजना स्थगित गरिएको छ ।

विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार अब उडानहरू सोमबार राति करिब १२ बजेदेखि पुनः सञ्चालन हुनेछन् ।

नागरिक तथा सैन्य उडानका लागि प्रयोग हुने हलीम पेरदानाकुसुमा विमानस्थल पनि त्यतिबेलासम्म बन्द रहनेछ ।

सोमबार जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा यात्रुहरूको लामो लाइन लागेको थियो ।

अलपत्र परेका यात्रुहरू टिकटको रकम फिर्ता लिन तथा उडान कहिलेदेखि सुरु हुन्छ भन्ने जानकारी लिन लाममा बसेका थिए ।

फिन्ना नामकी एक यात्रुले आइतबार बिहान पूर्वी जाभाको मलाङ सहरबाट जकार्तास्थित आफ्नो घर फर्किने योजना बनाएकी थिइन् ।

उनका अनुसार विमानस्थलमा निकै अस्तव्यस्त अवस्था थियो र उडानको समय पटक–पटक परिवर्तन भइरहेको थियो ।

Share News