‘सुशासन छैन भने दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासनबिना संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको बताएकी हुन् । 

उनका अनुसार राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने उनले बताएकी छन् । कार्कीले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै त्यस्तो घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र चनाखो बन्नुपर्नेमा जोड दिएकी छन् ।

उनले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित नवयुवाहरूले सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा उक्त आवाज दबाउने नाममा निर्दोष युवाले ज्यान गुमाउनुपरेको बताएकी छन् । कैयौँ युवा जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते भएको पनि उनले उल्लेख गरेकी छन् । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको तथा कैयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमेको स्मरण गर्दै कार्कीले त्यसबाट राष्ट्रको जीवनमा लागेको घाउ सायदै कहिल्यै पुरिने बताएकी छन् ।

‘अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन,’ उनले भनेकी छन्, ‘सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ ।’

भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन ।’

उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेकी छन् । यसैबीच, जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक अहिले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उनले उल्लेख गरेकी छन् ।

विपद्को यस दुःखद घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन आह्वान गर्दै कार्कीले एकअर्काको सहारा बनेर विपद्को सामना गर्न आग्रह गरेकी छन् । ‘एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ,’ उनले भनेकी छन् ।
 

Share News