काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको सडक पनि मर्मतका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टर सडक मर्मतसम्भारका लागि बन्द गर्न लागिएको जनाएको हो ।
प्रशासनका अनुसार मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडक पूर्ण रूपमा बन्द रहनेछ । सो अवधिमा उक्त मार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
पृथ्वी राजमार्गमा बाढीका कारण पक्की पुल बगाएपछि परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टर सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो ।
सडक बन्द हुने अवधिमा प्रशासनले धादिङबेँसी-सुनौलो बजार-भोर्ले-कोसीखोला-फोस्रेटार-कल्लेरीटारलगायत वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।