काठमाडौं । सिरियामा सन् २०२६/२७ को नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा राजधानी दमास्कसका पुराना बजारहरूमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड लागेको छ । यद्यपि, देशको जर्जर आर्थिक अवस्था र बढ्दो महँगीका कारण आफ्ना बालबालिकाका लागि आवश्यक सामग्री जुटाउन अभिभावकहरूलाई निकै सकस भइरहेको छ ।
दमास्कसस्थित स्टेसनरी सामग्रीको मुख्य केन्द्र ‘अल–असरौनिया’ बजारमा भेटिएका स्थानीय बासिन्दा अबु मासाले बजारमा सामानको मूल्य अत्यधिक बढेको गुनासो गरे ।
उनले भने, ‘सामानहरू निकै महँगा छन् र मानिसहरूसँग पर्याप्त रकम छैन । हामीले खर्च कटौती गर्न जेठी छोरीको पुरानो झोला कान्छी छोरीलाई दिने निर्णय गरेका छौँ र केवल एउटा नयाँ झोला मात्र किन्दैछौँ ।’
अर्का स्थानीय बासिन्दा फादीका अनुसार बजार मूल्य र सर्वसाधारणको आम्दानीबीच कुनै सन्तुलन छैन । धेरैजसो मानिसहरू बजारमा सामान हेर्न आए पनि खरिद गर्ने सामर्थ्य राख्दैनन् ।
‘हामी एकैपटक सबै सामग्री किन्न सक्ने अवस्थामा छैनौँ, त्यसैले केवल तत्काल आवश्यक पर्ने सामान मात्र किन्दैछौँ,’ उनले भने ।
बजारको वर्तमान अनुमानअनुसार, एक प्राथमिक तहका विद्यार्थीका लागि आधारभूत स्टेसनरी सेटको मूल्य १ लाखदेखि २ लाख ५० हजार सिरियाली पाउन्ड (करिब ८ देखि १९ अमेरिकी डलर) सम्म पर्दछ । सिरियामा हाल न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५६० नयाँ सिरियाली पाउन्ड (करिब १०५ डलर) रहेको छ । यस तथ्याङ्कलाई हेर्दा, एउटा बच्चाको प्रारम्भिक शैक्षिक तयारीका लागि मात्रै अभिभावकको मासिक आम्दानीको २० देखि ५० प्रतिशतसम्म खर्च हुने देखिन्छ ।
स्टेसनरी व्यवसायी मोहम्मद खैर जकमकजीका अनुसार, गत वर्षको तुलनामा यस वर्ष व्यापार निकै सुस्त छ । ग्राहकहरूले पहिले जस्तो पूर्ण सेट खरिद नगरी केवल अत्यावश्यक सामानहरू मात्र छानीछानी लैजाने गरेका छन् ।
विश्व बैंकको प्रतिवेदनअनुसार सिरियामा मुद्रास्फीति (महँगी दर) सन् २०२४ को ७२.१ प्रतिशतबाट घटेर सन् २०२५ मा ११.५ प्रतिशतमा झरेको छ । मुद्रास्फीतिमा केही सुधार देखिए पनि उच्च जीवनस्तर खर्च, कमजोर श्रम बजार र पुनर्निर्माणका चुनौतीहरूले गर्दा सर्वसाधारणको क्रयशक्ति अझै न्यून छ ।
यसैबीच, लामो समयको द्वन्द्व र विनाशपछि सिरियाको शिक्षा प्रणाली पुनरुत्थानको प्रक्रियामा रहेको छ । शिक्षा मन्त्रालयका अनुसार सन् २०२६ मा १ हजार ३७० विद्यालयहरूको पुनर्निर्माण गरिएको छ, जबकि ६ हजारभन्दा बढी विद्यालय अझै मर्मतको पर्खाइमा छन् ।
मन्त्रालयले उल्लेख गरेको युनिसेफको तथ्याङ्कअनुसार, करिब २४ लाख ५० हजार सिरियाली बालबालिका अझै पनि विद्यालय जानबाट वञ्चित छन् । विदेशबाट करिब ५ लाख बालबालिका स्वदेश फर्किएका कारण शिक्षा प्रणालीमा थप दबाब सिर्जना भएको छ । यस्तो अवस्थामा, सीमित बजेटका बीच आफ्ना बालबालिकालाई विद्यालय पठाउनु सिरियाली परिवारहरूका लागि ठूलो चुनौती बनेको छ ।