काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेका छन् ।
बाढीले सडक, स्वास्थ्य संस्था र राहत प्रणाली प्रभावित बनाएपछि आगामी एक महिनामा सम्भावित ४ सय ९२ प्रसूति तथा आकस्मिक सेवा आवश्यक पर्ने महिलासम्म सहायता पुर्याउन चुनौती बढेको छ । मानवीय सहायता सबै विस्थापितलाई एउटै समूहका रूपमा नभई महिला, नवजात शिशु र अन्य जोखिममा रहेका समूहका फरक आवश्यकताअनुसार व्यवस्थित गर्नुपर्ने देखिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले जनाएको छ ।
अन्य विस्थापितका आवश्यकताभन्दा आवश्यकता केही फरक हुन्छन् । बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ, आमाका लागि पर्याप्त र समयमै खाना, शिशुका लागि उपयुक्त पोषण, अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ । यूएनएफपीएले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब ४ हजार ४ सय ३० गर्भवती महिला रहेको अनुमान गरेको छ । यी तीन जिल्ला १० भदौको विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।
करिब ३ लाख १० हजार प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान अनुसार आगामी एक महिनामा करिब ४ सय ९२ शिशु जन्मिन सक्ने र करिब ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ ।
समस्या खाना र बस्ने ठाउँमा मात्र सीमित छैन। बाढीपछि स्वास्थ्य संस्थासम्म पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशूलीको प्रसूति विभागले गम्भीर संकटबीच सेवा उपलब्ध गराइरहेको छ । विभागकी प्रमुख वसन्ती पन्चका अनुसार बाढी आएयता अस्पतालमा ९ जना प्रसूति भइसकेका छन् ।
प्रसूतिसँगै अन्य जटिलता लिएर आउने महिलाको संख्या पनि बढेको छ। ज्वरो, गर्भमा रहेको बच्चाको चाल कम भएको र गर्भावस्थामा पिसाबको संक्रमण भएका महिला अहिले अस्पताल आइरहेका छन् । बिजुली नियमित छैन। शल्यक्रियाका लागि जेनेरेटर चलाउनुपर्छ ।
एकै पटक धेरै उपकरण स्टेरिलाइज ९निर्जीवाणुकरण० गर्न सकिने अवस्था पनि छैन । सानो–सानो समूहमा उपकरण सफा र निर्जीवाणुकरण गर्नुपरेको छ । पछिल्ला दिनमा चार जना प्रसूति बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउनुपरेको छ । दुई जनालाई नेपाली सेनाको हेलिकोप्टर र दुई जनालाई एम्बुलेन्सबाट अन्यत्र पठाइएको थियो ।
तीमध्ये एक महिलालाई प्रसूतिपछि घाउमा गम्भीर संक्रमण भएको थियो । पहिले सामान्य मानिने प्रसूति अवस्था अहिले स्वास्थ्यकर्मीका लागि ठूलो तनाव बनेको छ । ‘गर्भावस्थामै महिलालाई स्वाभाविक रूपमा धेरै चिन्ता, तनाव र के होला भन्ने डर हुन्छ,’ पन्च भन्छिन्, ‘बाढीले गर्भवतीलाई थप ठूलो तनावमा पारेको छ ।’
महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालकी कार्यकारी निर्देशक रेखा श्रेष्ठले आफूहरूको टोलीले भ्रमण गरेका आश्रयस्थलमा एउटै दृश्य दोहोरिइरहेको बताइन् । उनका अनुसार प्रायः आश्रयस्थलमा महिला, पुरुष, बालबालिका, बिरामी र स्वस्थ व्यक्ति सबै एउटै ठाउँमा छन् ।
यूएनएफपीएले ४ हजार ४ सय ३० को संख्या प्रारम्भिक अनुमान मात्रै भएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र स्वास्थ्य क्लस्टरसँगको समन्वयमा यो संख्या थप परिमार्जन भइरहेको छ। करिब ३ लाख १० हजार जनसंख्यालाई आधार बनाएर गरिएको यो अनुमान घर–घर पुगेर गरिएको गणना होइन ।
बरु, कुल जनसंख्यामा महिला गर्भवती हुने सम्भावनालाई जनसांख्यिकीय अनुपातका आधारमा हिसाब गरेर निकालिएको अनुमान हो। ‘कुनै पनि जनसंख्यामा कुनै पनि समयमा कति महिला गर्भवती हुने सम्भावना रहन्छ भन्ने मानक जनसांख्यिकीय अनुपातका आधारमा निकालेका हौं,’ नेपालका लागि यूएनएफपीएका प्रतिनिधि श्रीराम हरिदासले भने ।
यूएनएफपीएले घुम्ती स्वास्थ्य टोलीमार्फत गर्भपूर्व तथा प्रसवपछिको स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेको छ। संस्थाले २ हजार डिग्निटी किट, ८ सय किशोरी किट र ३ सय त्रिपाल आपत्कालीन आश्रयका लागि पठाएको छ । थप ३२ वटा प्रजनन स्वास्थ्य किट परिचालनका लागि तयारी अवस्थामा छन्। तर महिलाको संख्या थाहा पाउनु र उनीहरूसमक्ष सेवा पुर्याउनुबीच आकाश–जमिनको अन्तर छ ।
‘कुनै महिलालाई पहिचान गर्नु आधा काम मात्र हो,’ हरिदास भन्छन्, ‘तत्काल सहायता आवश्यक पर्दा कहाँ जाने भन्ने ती महिलालाई थाहा हुनुपर्छ । त्यहाँसम्म पुग्ने प्रभावकारी प्रणालीले पनि काम गरिरहेको हुनुपर्छ । ’