काठमाडौं । मोरङ उद्योग व्यापार संघले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका सुरक्षाकर्मी र पीडित समुदायको सहायतार्थ अत्यावश्यक सुरक्षा तथा राहत सामग्री हस्तान्तरण गरेको छ ।
संघको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित एक कार्यक्रमका बिच संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षकलाई ४०० जोर खुला ह्यान्ड ग्लोब्स र १६ कार्टुन (३८४ जोर) सेफेक्स गम्बुट हस्तान्तरण गर्नुभएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा उच्च प्रहरी अधिकृतहरूसँगै संघका उपाध्यक्ष विकास कुमार वेगवानी, महासचिव संजय कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईको उपस्थिति रहेको थियो ।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको भीषण बाढीका कारण रसुवाको टिमुरे, धुन्चे, बेत्रावती हुँदै नुवाकोट तथा धादिङका विभिन्न तटीय क्षेत्रहरूमा सडक, पुल र भौतिक पूर्वाधारमा ठूलो क्षति पुग्नुका साथै गम्भीर मानवीय संकट उत्पन्न भएको थियो ।
यस्तो विषम परिस्थितिमा नेपाल प्रहरी तथा सुरक्षा निकायले देखाएको अग्रपंक्तिको उपस्थिति, खोज तथा उद्धार कार्यमा प्रदर्शित साहस र प्रभावकारी भूमिकाको मोरङ उद्योग व्यापार संघले उच्च प्रशंसा गरेको छ ।
हिलो, ढुङ्गा र भग्नावशेषयुक्त जोखिमपूर्ण स्थानमा खटिने उद्धारकर्मी र बाढीपीडित नागरिकहरूको स्वास्थ्य तथा व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी उपलब्ध गराइएका यी सामग्रीले उद्धार कार्यलाई थप सुरक्षित र सहज बनाउने विश्वास लिइएको छ ।
निजी क्षेत्रको अग्रणी संस्थाको रूपमा मोरङ उद्योग व्यापार संघले विपद् व्यवस्थापन र मानवीय सेवाका कार्यहरूमा सुरक्षा निकायसँग सदैव हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सामग्री ग्रहण गर्दै कोशी प्रदेश प्रहरी प्रमुखले निजी क्षेत्रको यो सद्भावको सराहना गर्दै हस्तान्तरित सुरक्षा सामग्रीहरू तत्काल आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा परिचालन तथा वितरण गरिने जानकारी दिए ।