काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिर सडकखण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि उक्त खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो । क्षतिग्रस्त सडकको मर्मत गर्न जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार मर्मत अवधिभर एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सडक बन्द हुने भएकाले यात्रु तथा सवारीचालकलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमा माग्दै उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ ।