लाङटाङ हाइड्रोको सुरुङमा दुई जनाको शव फेला

बाढीग्रस्त क्षेत्रमा ९ हजारभन्दा बढी सैनिक परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा जारी खोज तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला परेको छ ।

नेपाली सेना र गैरसैनिक टोलीको संयुक्त प्रयासमा टनेलभित्र प्रवेश गरी शव निकालिएको हो । सेनाका ७ र गैरसैनिक ६ वटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रहरूबाट ५८ जनाको उद्धार गरिसकिएको छ ।

यस्तै, त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले जीवितै उद्धार गरी उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनी पठाएको छ । सोही स्थानबाट थप एक शव समेत बरामद भएको छ ।

अन्य आयोजनाहरूमा पनि उद्धार कार्यलाई उत्तिकै तीव्रता दिइएको छ । त्रिशूली-३बी आयोजनाको कार्यालय र निवास क्षेत्रमा १५ फिट गहिरो खाडल खनेर खोजी जारी राखिएको छ भने ३ए सँग सम्पर्क जोड्न ७०० मिटर बाटो खुलाइएको छ । 

चिलिमे हाइड्रोमा जेनेरेटर र मड पम्पको सहायताले लेदो फाल्दै टोली १०० मिटर भित्रसम्म पुगेको छ भने माथिल्लो त्रिशुली १ को हाकुस्थित टनेलमा र्याफ्ट, बोट र पम्पको प्रयोग गरी पानी फाल्ने र खोजी गर्ने काम भइरहेको छ ।

उद्धारका साथै यातायात र स्वास्थ्य सेवा सहज बनाउन विशेष टोली परिचालन गरिएको छ । देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज जडान गरी पुल निर्माण गर्न सेनाको इन्जिनियरिङ्ग टोली खटिएको छ । 

प्रभावित क्षेत्रका जङ्गल, डाँडा र बस्तीहरूमा सुरक्षा प्रत्याभूति दिलाउन डाक्टरसहितको टोलीले पैदल गस्ती गर्दै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म सेनाका ९ हजार ३ सय भन्दा बढी जनशक्ति उद्धार, शव व्यवस्थापन, सडक सफाइ र आपत्कालीन उपचारमा प्रत्यक्ष रूपमा खटिएका छन् । 

Share News