काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
जीवन विकास लघुवित्तमा कार्यरत कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजयकुमार मण्डलले जानकारी दिए ।
‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सहयोग गरेका हौं,’ सीईओ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित तथा प्रभावित दाजुभाइ–दिदीबहिनीको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’
संस्थाले गत भदौ १० गते आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।
संस्थाले ग्रामीण क्षेत्रका नागरिकको घरदैलोमै पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जनाएको छ ।