काठमाडौं । रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।
संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ। सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ ।
संकलित रकम संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारसँगै विभिन्न घटक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
उक्त रकम सरकारी राहत कोषमा जम्मा भई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा संघले गरेको छ ।
संघले अभियानअन्तर्गत संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिने जनाएको छ ।
अभियानमा सहभागी व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाको योगदानको उचित अभिलेख राखी सम्बन्धित विवरण व्यवसायीलाई समेत जानकारी गराइने संघले जनाएको छ ।
मानवीय सेवासँगै व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ ।
विपद्को घडीमा व्यवसायी समुदायले देखाएको एकता, सद्भाव र उदार सहयोगले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ दिएको संघको भनाइ छ ।
संघले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार संस्था तथा सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।