कुटनीतिक संवादमार्फत अमेरिका–इरानबीचको तनाव समाधान हुन्छ : पाकिस्तान

पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबी । फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको तनावका बावजुद कुटनीतिक माध्यमबाट समस्याको समाधान हुनेमा आशा व्यक्त गरेको छ । 

पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै दुई देशबीचको विवाद समाधानका लागि पाकिस्तानले संवाद र कुटनीतिलाई निरन्तरता दिने बताएका हुन् । 

‘पाकिस्तान अझै पनि आशावादी छ र वार्ता एवं कूटनीतिका लागि आफ्नो प्रयास जारी राख्नेछ,’ प्रवक्ता अन्ड्राबीले भने । 

उनले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ को विषयमा पाकिस्तानले आफ्नो सक्रियता कायम राख्ने बताउँदै दुवै पक्ष पुनः वार्ताको टेबुलमा फर्कने विश्वास व्यक्त गरे । 

प्रवक्ता अन्ड्राबीका अनुसार यदि दुवै पक्ष संवादका लागि तयार भएमा शान्ति पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न इस्लामावादमा एउटा कार्यढाँचा समेत तयार अवस्थामा रहेको छ । 

उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि वार्ता नै उत्तम विकल्प भएकोमा जोड दिए ।

Share News