काठमाडौं । सामान्यतया मंसिर नलागी बजारमा नआउने सुन्तला गुल्मीको धुर्कोटमा यसपटक भदौमै पाकेर बिक्री हुन थालेको छ । अफ सिजनमा उत्पादन भएको सुन्तलाको बुटवलमा उच्च माग भएपछि धुर्कोटका किसानले भदौमै सुन्तला टिपेर बजार पठाउन थालेका हुन् ।
धुर्कोट गाउँपालिका–२ पिपलधाराका किसानका अनुसार गत वर्ष ५० क्विन्टलभन्दा बढी अफ सिजन सुन्तला बिक्री भएको थियो । यस वर्ष उत्पादन अझ बढेको छ । किसान केशव खनालका अनुसार पिपलधाराबाट मात्रै करिब ७० क्विन्टल सुन्तला बिक्रीका लागि तयार भइसकेको छ ।
‘गत वर्षभन्दा यसपटक उत्पादन राम्रो छ । पिपलधाराबाट मात्रै ७० क्विन्टलजति सुन्तला बिक्रीका लागि तयार भइसकेको छ,’ खनालले भने ।
पिपलधारामा लगाइएको सुन्तला सामान्य सिजनमा फल्ने परम्परागत जातभन्दा फरक हो । खनालका अनुसार कीर्तिपुरस्थित बागवानीबाट बिरुवा ल्याएर रोपिएको उन्सु जातको सुन्तला रोपेको तेस्रो वर्षदेखि फल्न थालेको हो । यो जातको सुन्तला हरियोमै पाक्ने भएकाले अन्य सुन्तला बजारमा आउनुअघि नै बिक्री गर्न सकिने किसान बताउँछन् ।
पिपलधाराको वरजा र सुफ्ल क्षेत्रमा उन्सु जातको सुन्तला खेती गरिएको छ । पछिल्लो समय किसानले अफ सिजनमा राम्रो मूल्य पाउने भएपछि यस जातको सुन्तला खेती विस्तार गर्न थालेका छन् । गत वर्षदेखि धुर्कोटका नयाँगाउँ र पिपलधारामा धेरै किसानले यो जातको सुन्तला लगाएको स्थानीय विमल घिमिरेले जानकारी दिए ।
सामान्यतया बजारमा सुन्तलाको मुख्य सिजन सुरु हुनुअघि नै धुर्कोटको उत्पादन बजारमा पुग्ने भएकाले यसको मागसमेत उच्च रहेको व्यापारीहरू बताउँछन् । विशेषगरी बुटवलको गर्मी मौसममा रसिलो सुन्तला खोज्ने उपभोक्ताका कारण धुर्कोटको सुन्तलाले बजार पाएको हो ।
बुटवलका व्यापारी कृष्ण जिसीका अनुसार धुर्कोटबाट सुन्तला बोकेर आएको गाडीको माल लामो समय राख्नुपर्ने अवस्था छैन । गाडीबाट झारिसक्दा ल्याएको माल सकिन्छ ।
‘बुटवलको गर्मीमा धुर्कोटका रसिला सुन्तलाको माग खोसाखोस छ,’ जिसीले भने । उनका अनुसार यो सिजनमा ४ क्विन्टल सुन्तला बिक्री भइसकेको छ ।
अफ सिजनमा स्थानीय उत्पादनको सुन्तला खान पाउँदा बुटवलका उपभोक्तासमेत उत्साहित छन् । स्थानीय पशुपति भण्डारीले भदौमै गुल्मीमा उत्पादित सुन्तला खान पाउनु आफूहरूका लागि खुसीको विषय भएको बताए ।
‘आफ्नै माटोको स्वाद आउने सुन्तला भदौमै बुटवलमा बसेर खान पाउनु गर्वकै कुरा हो,’ उनले भने ।
किसानहरूका अनुसार अफ सिजनमा उत्पादन हुने सुन्तलाले सामान्य सिजनको उत्पादनभन्दा फरक बजार पाउने भएकाले यसको व्यावसायिक सम्भावना पनि बढ्दै गएको छ । परम्परागत समयमा मात्रै सुन्तला बेच्ने किसानका लागि उन्सु जातको खेतीले वर्षको अन्य समयमा समेत आम्दानीको बाटो खोलिदिएको छ ।
गुल्मीका किसानले नयाँ जातका फलफूल खेतीतर्फ आकर्षण बढाउँदै लगेका बेला धुर्कोटमा भदौमै सुन्तला उत्पादन हुन थालेको हो । समयभन्दा अगावै बजारमा पुग्ने र तत्कालै बिक्री हुने भएपछि किसानले उत्पादन विस्तार गर्ने सम्भावना बढेको अर्का सुन्तला किसान तीर्थ भण्डारीले जानकारी दिए ।