काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापनमा सरकारको समन्वय र सक्रियता कमजोर देखिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन भए पनि नागरिकस्तरमा आवश्यक जनशक्ति परिचालन गर्न सरकार चुकेको बताए । संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा विपद्को सामना गर्न कठिन भएको उनको भनाइ छ ।
उनले विपद्को सुरुवाती अवस्थामा गृहमन्त्रीको सक्रियता देखेपछि सरकार प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरेको बताए । संकटको समयमा सरकारलाई सहयोग गर्ने विषयमा राजनीतिक दलहरूबीच कुनै मतभेद नरहेको पनि उनले स्पष्ट पारे ।
तर, त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरूको सक्रियता अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको प्रचण्डले टिप्पणी गरे ।
‘सेनाले धेरै जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो,’ उनले भने, ‘तर महाविपत्तिको सामना गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय हुन सकेन ।’
प्रचण्डले विपद्को व्यवस्थापन सुरक्षा निकायको प्रयासबाट मात्रै सम्भव नहुने बताए। उनका अनुसार राज्यका संयन्त्रसँगै स्थानीय समुदाय, राजनीतिक दल, नागरिक समाज र स्वयंसेवकलाई योजनाबद्ध रूपमा परिचालन गर्न आवश्यक छ ।
‘सेना परिचालन भयो, जनपरिचालन भएन । जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भवजस्तै हुन्छ,’ उनले भने ।
सरकारको उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै जनस्तरबाट गुनासो आइरहेको उल्लेख गर्दै प्रचण्डले तत्काल उद्धार, राहत र पुनःस्थापनालाई तीव्र बनाउन सरकारको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए ।