काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकारलाई साथ दिनु भनेको सरकारका हरेक कामको समर्थन गर्नु नभएको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दा साथ दिने, तर कमजोरी र गलत काममा खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको स्पष्ट पारे ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि खोज तथा उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।
‘सरकारलाई साथ दिन्छौँ’ भन्नुको अर्थ सरकारका गलत कामलाई पनि समर्थन गर्नु नभएको उल्लेख गर्दै उनले भने, ‘बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन ररु प्रलयकारी बाढी आएको एक साता बितिसक्यो । सबै ठीकठाक भइरहेको छ, जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख भएको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो ।’
आङदेम्बेले सरकारलाई कमजोर बनाउन नभई अझ प्रभावकारी बनाउन आफूहरूले प्रश्न गरिरहेको बताए । विपद्को समयमा राजनीतिक प्रचारभन्दा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो ।
‘सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो,’ उनले भने, ‘नागरिकको जीवनसँग जोडिएको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोस् ।’
उनले विपद्पछिको सबैभन्दा गम्भीर कमजोरी खोज तथा उद्धारमै देखिएको बताए । विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोजी तथा उद्धारमा भएको ढिलाइप्रति उनले आपत्ति जनाए ।
सरकारका मन्त्री तथा जिम्मेवार अधिकारीहरू उद्धारको मैदानमा प्रभावकारी रूपमा खटिनुको साटो सामाजिक सञ्जालमा बढी सक्रिय देखिएको आरोप पनि उनले लगाए ।
‘मलाई एउटा प्रश्नले घोचिरहेको छ । यदि मन्त्रिपरिषद्का सदस्यकै परिवार वा आफन्त विपद्मा परेका भए, मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि माटो खोस्रेको फोटो–भिडियो खिचेर “वाह मन्त्रीजी” भन्दै पोस्ट गरिरहनुहुन्थ्यो ?’ उनले प्रश्न गरे ।
आङदेम्बेले विपद्को समयमा सरकारको ध्यान प्रचारमा नभई खोज, उद्धार, राहत र नागरिकको जीवन रक्षामा केन्द्रित हुनुपर्ने बताए । उनले फिल्डमा देखिएका कमजोरी तत्काल सच्याएर सरकारलाई थप प्रभावकारी ढंगले परिचालन गर्न आग्रह गरे ।