काठमाडौंमा १६५ शव ल्याइयो, शव व्यवस्थापनमा ७५ प्रहरी परिचालन

काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाएकाको १६५ वटा शव काठमाडौंमा ल्याइएको छ  । 

नुवाकोटबाट १५९ र धादिङबाट ६ वटा शव ल्याइएको अस्पताल परिसरमा रहेका एसपी प्रदीप सिंहले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै नुवाकोटबाट शव आउने गरेको छ । अस्पतालमा आएका शवलाई प्रहरीले व्यवस्थापन गरिरहेका छन् ।

शवको डिएनए परीक्षणका लागि अस्पतालबाट नमुना संकलन गरिएको सिंहले जानकारी दिए । यहाँबाट शवको डिएनए परीक्षण गर्न प्रहरी अस्पताल लाने गरेको उनले बताए ।

शव व्यवस्थापनका लागि ७५ जना प्रहरी परिचालन गरिएको उनले बताए । 

'१० जना प्राविधिक प्रहरीले शव व्यवस्थापन गरिरहेका छन्  र ५  जनाले शवको मुचुल्का गरिरहेका छन्,' उनले भने । बाँकी प्रहरी अस्पताल परिसरभित्र परिचालन छन् ।

गत बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खमा ठूलो धनजनको क्षति गरेको छ ।

Share News