काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष संझना अर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्रजंग पाण्डे र शम्शेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले मंगलबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। यही विपद्का प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको जनाएको छ ।
भीषण बाढी र डुबानका कारण दर्जनौं नागरिकले ज्यान गुमाएका छन् भने कैयौं बेपत्ता भएका छन् । बस्ती तथा भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेपछि सयौं परिवार विस्थापित भएका छन् ।
कम्पनीले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघ–संस्थाले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा सहयोग गरेको जनाएको छ ।
प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै राष्ट्रिय संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ । ‘ढुकढुक हैन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुसार प्रदान गरिएको सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनामा थप सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
कम्पनीले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बेपत्ताको शीघ्र खोजी र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति कम्पनीले उच्च सम्मान र आभारसमेत व्यक्त गरेको छ ।