काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
वित्तीय संस्थाले भदौ १० गते आएको बाढीका कारण रसुवासहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै विपद्को कठिन घडीमा सरकारको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै उक्त सहयोग प्रदान गरेको जनाएको छ ।
संस्थाले बाढीमा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
त्यस्तै, प्राकृतिक प्रकोपका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था र विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारजनले भोग्नुपरेको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ ।
मातृभूमि लघुवित्तले संकटको समयमा राहत, उद्धार र पुनर्स्थापना कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ ।