इरानमाथि फेरि हमला गर्ने ट्रम्पको तयारी, क्षेप्यास्त्र र राडार निशानामा

फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने योजना बनाइरहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि हुने आक्रमण रोक्न इरानको क्षेप्यास्त्र र राडार क्षमतामाथि सीमित हमला गर्नेबारे विचार गरिरहेको बताइएको छ ।

बीबीसी फारसीले एक्सियोसको रिपोर्ट उद्धृत गर्दै ट्रम्प र उनका शीर्ष सहयोगीहरूले हर्मुज जलडमरूमध्यमा सीमित सैन्य कारबाही गर्ने विकल्पमाथि विचार गरिरहेको जनाएको छ ।

उनीहरूले इरानको राडार र क्षेप्यास्त्र क्षमतालाई पुनः सक्रिय हुन नदिने उद्देश्य राखेको बताइएको छ ।

यसैबीच, सोमबार राति इरानमा भएको अमेरिकी हमलामा तीन जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताइएको छ । हमलालगत्तै इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो ।

यसअघि अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएको थियो । बीबीसीलाई एक अमेरिकी अधिकारीले उक्त जानकारी दिएका हुन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला भएको बताइएको छ ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजले अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सलाई उद्धृत गर्दै इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङमार्फत हमला गर्न र रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको अवस्थामा देखिएको जनाएको थियो ।

Share News