काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाहीको धम्कीलाई थप विस्तार गर्दै देशको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुसम्म पुर्याएका छन् । उनले खार्ग टापु ‘टुक्राटुक्रा पारिने’ चेतावनी दिएका छन् ।
सोमबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले दक्षिणी होर्मुज जलडमरूमध्यमा एउटा सुपरट्याङ्करमा आगलागी भएको र उक्त जहाज सञ्चालनविहीन बनेको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार जहाजले समुद्री मार्गमा बिछ्याइएका दुईवटा नौसैनिक बारुदी सुरुङमा ठक्कर दिएको थियो । आईआरजीसीका अनुसार उक्त जहाजले इरानले तोकेको पारवहनसम्बन्धी नियम पालना गरेको थिएन ।
आईआरजीसीको नौसेनाले होर्मुज जलडमरूमध्य हुँदै सुरक्षित रूपमा पार हुन आफ्ना नियम पालना गर्न सबै पानीजहाजलाई आग्रह गरेको छ ।
यसैबीच, इरानको विदेश मन्त्रालयले सोमबार अमेरिका र उसका सहयोगी राष्ट्रहरू बढ्दो तनावबाट उत्पन्न हुने परिणामका लागि ‘पूर्ण रूपमा जिम्मेवार’ हुने चेतावनी दिएको छ । मन्त्रालयले ‘शत्रु’बाट हुने थप कुनै पनि सैन्य आक्रमणको निर्णायक रूपमा प्रतिकार गर्ने जनाएको छ ।
यी घटनाक्रम अमेरिका र इरानबीच सप्ताहन्तमा एकअर्कामाथि आक्रमण भएपछि आएका हुन् । पछिल्लो समय दुई देशबीच पुनः सैन्य तनाव चर्किएको छ ।
आइतबार अमेरिकी सेनाले लाराक टापुमा रहेका इरानका दुई रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेको थियो । अमेरिकी सेनाका अनुसार आईआरजीसीले होर्मुज जलडमरूमध्यमा प्रहार गर्न समुद्री माइन बोकेका रकेट प्रक्षेपणको तयारी गरिरहेको थियो । अमेरिकी सेन्ट्रल कमान्डले उक्त घटनाको पुष्टि गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता नेभी क्याप्टेन टिम हकिन्सले भने, ‘आज अमेरिकी सेनाले लाराक टापुमा रहेका इरानका दुई प्रक्षेपण केन्द्रमा आक्रमण गरेको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सका सैनिकहरू होर्मुज जलडमरूमध्यमा समुद्री माइनसहितका रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएका थिए ।’
उनका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले गत साता जलडमरूमध्यको अन्तर्राष्ट्रिय पानीजहाज आवागमन मार्गबाट समुद्री माइन हटाउने काम पूरा गरेको थियो । अमेरिकी सेनाले उक्त क्षेत्रलाई नजिकबाट निगरानी गरिरहेको र महत्त्वपूर्ण जलमार्गबाट व्यापार तथा पानीजहाजको स्वतन्त्र आवागमन सुनिश्चित गर्न आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ ।
आइतबारको आक्रमण जुलाईको अन्त्ययता इरानका स्थानमा अमेरिकाले सार्वजनिक रूपमा स्वीकार गरेको पहिलो आक्रमण थियो । युद्ध सुरु भएको करिब छ महिना भइसकेको छ र यसले विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा पानीजहाजको आवागमनमा ठूलो असर पारेको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले लाराक टापुमा भएको अमेरिकी आक्रमणमा केही इरानी सैनिक मारिएको तथा केही घाइते भएको जनाएको छ । त्यसपछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको बताइएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार मिसाइल र ड्रोनबाट गरिएको संयुक्त आक्रमण किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित थियो ।
इरानी सैन्य अधिकारीहरूले ती आक्रमणबाट प्राविधिक तथा मर्मत संरचना र अमेरिकी लडाकु विमान तैनाथ गर्ने स्थलमा क्षति पुगेको तथा ठूलो क्षति भएको दाबी गरेका छन् । उनीहरूले आगामी दिनमा अझ कडा प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् ।
हर्मुज जलडमरूमध्यमा रहेको लाराक एउटा सानो इरानी टापु हो। पछिल्लो समय यो तेहरानका लागि महत्त्वपूर्ण सैन्य तथा पानीजहाज नियन्त्रण केन्द्रका रूपमा विकसित भएको छ । रिभोल्युसनरी गार्डले विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक रहेको हर्मुज हुँदै जाने पानीजहाजको आवागमन निगरानी गर्न यसलाई प्रयोग गर्दै आएको छ ।
अमेरिकी नौसेनाले इरानी बन्दरगाहमाथि नाकाबन्दी जारी राखेको छ । यसको उद्देश्य इरानी सरकारलाई होर्मुज जलमार्ग पुनः खोल्न दबाब दिनु रहेको बताइएको छ । तर इरानले आफ्नो तट नजिकको उत्तरी पानीजहाज मार्ग प्रयोग नगर्ने जहाजहरूलाई निरन्तर निशाना बनाउँदै आएको छ ।
यसैबीच, शनिबार अर्को एउटा तेल ट्याङ्करमा अज्ञात वस्तु प्रहार भएको बेलायतको युके मेरिटाइम ट्रेड अपरेसनले जनाएको छ । उक्त ट्याङ्कर होर्मुज जलडमरूमध्य हुँदै ओमानको तटतर्फ रहेको दक्षिणी मार्ग प्रयोग गरेर प्रवेश गरिरहेको थियो ।
उक्त घटनामा कुनै मानवीय क्षति नभएको जनाउँदै बेलायती निकायले हर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने पानीजहाजलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरेको छ ।