अमेरिकाले फेरि इरानमाथि ग‍र्यो हमला, लाराकका दुई सैन्य अखडा निशानामा

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएको छ ।

अमेरिकी एक अधिकारीले यस्तो जानकारी दिएका हुन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो ।

सीबीएस न्युजले अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सलाई उद्धृत गर्दै जनाएअनुसार, ‘इरानी रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउन र रकेट प्रहार गर्न तयारी गरिरहेको देखिएको थियो ।’

आईआरजीसीले आइतबार भएको अमेरिकी हमलामा केही मानिस मारिएको र घाइते भएको जनाएको छ । साथै उक्त हमलाको जवाफमा ‘प्रतिकार र दण्डात्मक कारबाही’ गर्ने चेतावनी दिएको छ ।

त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामाथि हमला गरेको समाचार प्रसारण गरेका छन् ।

बीबीसीले यसबारे अमेरिकी सेन्ट्रल कमान्डसँग प्रतिक्रिया मागेको जनाएको छ ।

आईआरजीसीको उक्त बयान आएको केही समयपछि जोर्डनको सेनाले आफूहरूले आठवटा मिसाइल खसालेको जनाएको छ ।

जोर्डनको सशस्त्र सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज सोमबार बिहानै वायु रक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा मिसाइललाई रोकेको छ ।’

सरकारी समाचार संस्था पेट्राले सेनाका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए । त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो ।

Share News