काठमाडौं । पशुपती रिन्यूएबल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित १०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ५ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको बालुवाटार प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजे बस्नेछ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।
पशुपती रिन्यूएबल्स लिमिटेड नेपालमा जलविद्युत् तथा सौर्य ऊर्जा परियोजना विकास गर्ने कम्पनी हो । कम्पनीले नेपालको ऊर्जा क्षेत्रमा व्यवस्थित, स्वाभाविक तथा दिगो विकासमार्फत लगानीका अवसरलाई सफलतापूर्वक अघि बढाउने लक्ष्य राखेको छ ।
कम्पनीको प्रवद्र्धक समूहमा अन्तर्राष्ट्रियस्तरमा प्रशिक्षित तथा अनुभवी इन्जिनियर, अर्थशास्त्री, व्यवसायी तथा व्यवस्थापन विज्ञहरू रहेका छन् । समूहले नेपालसँगै दक्षिण तथा दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी मुलुकहरूमा साना, मझौला तथा ठूला जलविद्युत् परियोजनाको विकासमा सहभागिता जनाएको छ ।
कम्पनीले पारदर्शी, स्वच्छ तथा नैतिक व्यावसायिक अभ्यासलाई प्राथमिकता दिँदै आएको छ । नेपालमा साना तथा मझौला जलविद्युत्, प्रिफ्याब कङ्क्रिट तथा ग्रिडमा आधारित सौर्य ऊर्जा परियोजनालगायत विभिन्न परियोजनाको प्रवद्र्धन गरिरहेको छ ।