नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, रसुवामा शनिबारसम्म बिजुली बाल्ने तयारी

काठमाडौं । भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेका रसुवा र नुवाकोट क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तीव्र गतिमा विद्युत् पुनःस्थापनाको काम अघि बढाएको छ ।

बाढीले विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुर्याउँदा ४३० मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले देशैभरको लोड व्यवस्थापन गर्न सफल भएको जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमध्ये नुवाकोटमा वैकल्पिक व्यवस्था मिलाएर बिहीबार दिउँसोसम्ममै करिब ९० प्रतिशत विद्युत् प्रवाह पुनःसञ्चालन भइसकेको छ । त्रिशूली पारिको क्षेत्रमा बाटो र पुल बगेर सञ्चार तथा पहुँच विच्छेद भए पनि धादिङको सल्यानटारबाट फिड गराएर बिजुली पुर्याइसकिएको प्राधिकरणले जनाएको छ । 

यसैबीच, पूर्ण रूपमा विद्युत्विहीन बनेको रसुवाको धुन्चे र आसपासका क्षेत्रमा भने शनिबारसम्म बिजुली बाल्ने लक्ष्यका साथ प्राधिकरणले प्राविधिक टोली खटाएर अनेक विकल्पमा अध्ययन थालेको बताएको छ । 

प्राधिकरणका अनुसार बेत्रावती क्षेत्र वरपर ५ देखि ७ वटा टावरहरू बगेकाले सडकमार्ग खुल्नेबित्तिकै ६६ केभीए लाइनमार्फत चिलिमे-त्रिशूली संरचना प्रयोग गर्ने पहिलो विकल्प राखिएको छ । 

यस्तै, साञ्जेन पावर हाउसलाई आइसोलेटेड मोडमा चलाएर हाकु क्षेत्रमा एयरलिफ्ट गरी १० वटा पोल जोड्ने वा नुवाकोटबाटै खोलाको किनारैकिनार एउटा फिडर रसुवातर्फ लैजाने अन्य विकल्पहरूमा पनि काम भइरहेको प्राधिकरणको भनाइ छ ।

शुक्रबार बिहानैदेखि प्राविधिक टोली गम्भीर अध्ययन र मर्मतमा खटिएकाले शनिबारसम्ममा रसुवामा पनि बिजुली पुनःस्थापना हुनेमा प्राधिकरण आशावादी छ ।

Share News