बाढीले बगायो ७८३ नयाँ गाडी, सयौंको जीवन संकटमा

दशैं-तिहारको तयारीमा थियो देश

काठमाडौं । दशैं र तिहारको संघारमा देशभर एउटा बेग्लै उत्साह हुनुपर्ने थियो । सडकहरूमा नयाँ गाडीका ताँती हुनुपर्ने थियो र बजारहरू सामानले भरिभराउ हुनुपर्ने थियो । तर, नियतिको खेल अर्कै भयो । तिब्बटबाट आएको भीषण बाढीले नेपाली भौतिक पूर्वाधार, अटोमोबाइल क्षेत्र र सयौं परिवारको खुसीलाई एकै झट्कामा बालुवामा मिलाइदिएको छ ।

यो केवल बाढी थिएन, यो त नेपाली अर्थतन्त्रको मेरुदण्डमाथि प्रकृतिको एउटा क्रूर प्रहार थियो । नेपालीहरूका लागि यो वर्षको दसैं उत्सव होइन, एउटा दुस्वप्न बनेर आएको छ । सडक विभागको प्रारम्भिक विवरणअनुसार बाढीले नदी तटीय क्षेत्रमा रहेका कम्तीमा ४० किलोमिटर सडक र १९ वटा पुलहरूमा क्षति पुर्याएको छ भने १६ वटा जलविद्युतका आयोजनाहरुमा क्षति पुर्याएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले १६ जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको र ती आयोजनामा कार्यरत कर्मचारीहरु सम्पर्कबिहीन रहेको बताएको छ । यसैगरी, चिनियाँबाट दशै र तिहारका लागि लक्षित गरेर ल्याएका ७ सय ८३ नयाँ गाडीहरू बगाएको छ । रसुवा नाकालाई चिनियाँ गाडी आयातको मुख्य केन्द्रका रूपमा लिने गरिन्छ तर अहिले त्यहाँको दृश्य हेर्ने नसकिने भएको छ । 

बाढीमा सबैभन्दा बढी गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका रहेका छन् । कम्पनीका अनुसार २५० गाडीहरू बाढीले बगाएको छ । 

त्यसैगरी, एमजी गाडीको आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सका १८० गाडी बगेका छन् । ओमोडा गाडीको आधिकारिक एपीजी अटोमोबाइल्सका ६५ वटा, फोटोनका ६० र एमएडब्लु वृद्धिका ८० वटा गाडी बाढीले बगाएको छ ।

यसैगरी, शशीला मोटर्सका ३३ वटा गाडी, बीएआइसी, आर्कफक्स, स्काइवेल र म्याक्ससलगायत ब्रान्डका करिब ४० वटा गाडीहरू बाढीमा बगेका छन् ।

भौतिक क्षति त ढिलोचाँडो पुनःनिर्माण होला, तर मानवीय क्षतिको भर्पाई असम्भव छ । यो बाढीले सयौं परिवारको काख रित्याएको छ । नेपाल पर्यटन बोर्डका अनुसार ३८४ जना आन्तरिक र बाह्य पर्यटकहरू अहिले सम्पर्कविहीन छन् । 

उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन्, कसैलाई थाहा छैन । रसुवा भन्सारमा कार्यरत ४० कर्मचारीमध्ये १४ जना अझै बेपत्ता छन् । यस्तै, लाङटाङ खोला हाइड्रोपावरमा कार्यरत करिब ७० जना कर्मचारी तथा कामदारहरू हालसम्म सम्पर्कविहीन छन् भने उत्तरगया गाउँपालिकाकाको एउटै गाउँका १८ जना सम्पर्कविहीन छन् । 

अहिले आकाशमा हेलिकप्टरहरूको आवाज गुन्जिरहेको छ । सरकारले एक दर्जनभन्दा बढी हेलिकप्टरहरू उद्धार र खोजीका लागि परिचालन गरेको छ । तर, भौगोलिक विकटता र प्रतिकूल मौसमले उद्धार कार्यलाई चुनौतीपूर्ण बनाएको छ ।

Share News