हिमालयन बैंकको बेत्रावती शाखा बगायो, एक कर्मचारी सम्पर्क विहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण हिमालयन बैंकको बेत्रावती शाखा पूर्णरूपमा बगाएको छ । शाखा रहेको भवन नै बाढीले बगाएपछि त्यहाँ कार्यरत एक कर्मचारी सम्पर्क विहीन भएका छन् ।

हिमालयन बैंकका अनुसार शाखामा कार्यरत चार जना कर्मचारीमध्ये तीन जना बाढीबाट जोगिन डाँडातर्फ गएर सुरक्षित भएका छन् । एक जना कर्मचारी भने घरको माथिल्लो भागमा चढेका थिए । उनीसँग हाल सम्पर्क हुन नसकेको बैंकले जनाएको छ ।

सम्पर्क विहीन कर्मचारीको परिवारलाई समेत घटनाबारे जानकारी गराइएको बैंकले जनाएको छ । शाखा कार्यालय नै बाढीले बगाएका कारण कर्मचारी सम्पर्क विहीन भएको बैंकको भनाइ छ ।

बेत्रावती शाखामा करिब २० देखि २५ करोड रुपैयाँ कर्जा लगानी रहेको र ५० देखि ६० करोड रुपैयाँ निक्षेप रहेको बैंकले जनाएको छ । शाखाको भल्टसमेत बाढीले बगाएको बताइएको छ ।

यसैगरी, बैंकको त्रिशूली शाखामा भने बाढीको खासै असर परेको छैन । उक्त शाखाका सबै कर्मचारी र शाखा कार्यालय सुरक्षित रहेको बैंकले जनाएको छ ।

Share News