काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार २३ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार चिलिमे हाइड्रोपावरको भएको छ । चिलिमेको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सानिमा मिडलको १९ करोड, साहस ऊर्जाको १६ करोड, सोलु हाइड्रोको १५ करोड र रिडि पावरको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा बुधबारकाे कारोबारमा सबै उपसूचकहरू घटेका छन् । सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा समूहमा देखिएको छ । यो समूहको उपसूचक ४०४.०५ अंक अर्थात् ३.९० प्रतिशतले घटेर ९ हजार ९३५.५९ विन्दुमा झरेको छ ।
यस्तै, जलविद्युत् उपसूचक १०४.३३ अंक अर्थात् २.८४ प्रतिशतले घटेर ३ हजार ५६१.२८ विन्दुमा सीमित भएको छ । जीवन बीमा उपसूचक पनि १७५.१३ अंकले घट्दै ११ हजार ३१३.१४ विन्दुमा पुगेको छ ।
लगानी समूह १.२८ प्रतिशत, अन्य समूह १.४६ प्रतिशत, वित्त समूह १.१० प्रतिशत तथा लघुवित्त समूह ०.९७ प्रतिशतले घटेका छन् । विकास बैंक उपसूचक ४५.९१ अंकले घट्दा बैंकिङ उपसूचक ११.०८ अंकले ओरालो लागेको छ ।
होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.६१ प्रतिशतले घटेका छन् । कारोबार समूहमा भने सामान्य गिरावट देखिएको छ । यो उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।