काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पूर्ण धितोपत्र दलाल तथा व्यापारी (ब्रोकर)लाई ग्राहकको कारोबारसँग सम्बन्धित रकम छुट्टाछुट्टै बैंक खातामार्फत परिचालन गर्न निर्देशन दिएको छ । धितोपत्र (सेयर) कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन बोर्डले यस्तो निर्देशन जारी गरेको जनाएको छ ।
बोर्डका अनुसार प्रत्येक ग्राहकको सेयर कारोबारसँग सम्बन्धित हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था भए पनि निरीक्षणका क्रममा केही ब्रोकर कम्पनीले सम्पूर्ण रकम एउटै बैंक खातामार्फत परिचालन गरेको पाइएको थियो । त्यसैले आगामी दिनमा धितोपत्र व्यवसायीको सञ्चालनका लागि जम्मा हुने रकम र धितोपत्र कारोबारका लागि प्राप्त हुने रकमका लागि फरक–फरक बैंक खाता प्रयोग गर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।
यस्तै, प्रत्येक धितोपत्र दलाल व्यवसायीले महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।
ग्राहकका धितोपत्र कारोबारसम्बन्धी गुनासा नेपाल सरकारलगायत विभिन्न निकायमा पुग्ने गरेको भन्दै बोर्डले गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रत्येक धितोपत्र दलाल व्यवसायीले अनिवार्य रूपमा लगानीकर्ता गुनासो समाधान इकाइ गठन गर्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त इकाइका लागि स्पष्ट कार्यप्रक्रिया (वर्कफ्लो) निर्धारण गरी गुनासो समाधानसम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र बोर्डमा पेस गर्नसमेत निर्देशन दिइएको छ ।
यसैगरी, धितोपत्र कारोबारको टी+२ अवधिमा ग्राहकलाई रकम उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि बोर्डले धितोपत्र दलाल तथा व्यापारीलाई निर्देशन दिएको छ ।