काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आधारभूत सेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन सम्पूर्ण सूचीकृत कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।
बोर्डका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीका कुनै आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि नेप्सेमार्फत सार्वजनिक रुपमा जानकारी गराउनुपर्नेछ । यस्तो सूचनाको वैधता तीन महिनासम्म कायम रहनेछ।
बोर्डले सूचीकृत संगठित संस्थालाई धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) बमोजिम खरिद–बिक्री, हस्तान्तरण वा अन्य कारोबार गर्न नमिल्ने धितोपत्रका सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
यस्ता धितोपत्रको कारोबार रोक्का वा व्यवस्थापनका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ३९ को उपनियम (२) बमोजिम केन्द्रीय निक्षेप संस्थालाई आवश्यक जानकारी उपलब्ध गराउनसमेत बोर्डले सूचीकृत कम्पनीलाई भनेको छ ।