काठमाडौं । नेपाली कांग्रेसले महिला उद्यमशीलताको प्रवर्द्धन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा भदौ ११ गते आयोजना हुने एकदिने सम्मेलनमा महिला उद्यमीका चुनौती, सम्भावना, वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग तथा लगानीका अवसरबारे छलफल गरिने कांग्रेसले जनाएको छ ।
सम्मेलनको उद्देश्य महिलाको आर्थिक सशक्तीकरणसँगै उद्यमशीलताको विकासमार्फत नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउनु रहेको कांग्रेसको भनाइ छ । सम्मेलनले महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच विस्तार, बजार प्रवर्द्धन र व्यावसायिक नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिनेछ । प्रदर्शनीमा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित साझेदारसमक्ष प्रत्यक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल छलफल हुनेछन् । व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूले प्यानलमा सहभागिता जनाउने कांग्रेसले जनाएको छ ।
प्यानल छलफलमा महिला उद्यमीले भोग्दै आएका व्यावहारिक समस्या, लगानी तथा वित्तीय पहुँचका चुनौती, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे छलफल हुनेछ ।
कार्यक्रमको अर्को प्रमुख आकर्षण ‘मेरो उद्यमशील यात्रा’ सत्र रहनेछ । उक्त सत्रमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाइका अनुभव सुनाउनेछन् । यसबाट उद्यमशीलतामा प्रवेश गर्न चाहने नयाँ पुस्ताका महिलालाई प्रेरणा र व्यावहारिक मार्गदर्शन मिल्ने कांग्रेसको अपेक्षा छ ।
त्यसैगरी सम्मेलनस्थलमा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र सञ्चालन गरिनेछ । केन्द्रमार्फत व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे जानकारी दिइनेछ ।
कांग्रेसका अनुसार सम्मेलन भदौ ११ गते बिहान ८ बजे सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा सुरु हुनेछ । सम्मेलनमा १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ ।