काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ।
पूर्वसभापति शेरबहादुर देउवाले महाधिवेशन रोक्न माग गर्दै नयाँ रिट लिएर सर्वाेच्च पुगेका थिए । तर उनलाई सर्वाेच्चले पूरक निवेदन लिएर आउन भनेकाे छ भने पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट पूरक निवेदन परेको छ ।
वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले देउवाले १५औं महाधिवेशनको प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै रिट लिएर अदालत गए पनि सर्वोच्चले पुरानै रिटमा पूरक निवेदन ल्याउन भनेको जानकारी दिए ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार खड्काको निवेदन दर्ता भइसकेको छ भने देउवाको हकमा पूरक निवेदन ल्याउन भनिएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी प्रक्रिया अघि बढाएपछि देउवा अदालत पुगेका हुन् ।
खड्काको तर्फबाट भने यसअघि दायर गरिएको मुद्दामा पूरक निवेदन पेस भएको हो ।
सर्वोच्चले अघिल्लो आदेश पुनरावलोकनका लागि अनुमति दिइसकेकाले पूरक निवेदनलाई पनि सोही मुद्दासँगै राखेर सुनुवाइ गर्नुपर्ने खड्काको माग छ ।
उनले महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्नसमेत माग गरेका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन अघि बढाउन नहुने देउवा र खड्का पक्षको जिकिर छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा र खड्का पक्ष सर्वोच्च पुगेका थिए । सर्वोच्चले सुरुमा निर्वाचन आयोगको निर्णय सदर गरेको थियो ।
त्यसपछि उक्त आदेश पुनरावलोकनको माग गर्दै दुवै पक्षले निवेदन दिएका थिए ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो ।