काठमाडौं । पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका–६ स्थित अस्ताम गाउँ शुक्रबार एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो । देशका कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुसी र कौतुहलता छायो भने अर्कोतिर वर्षौंदेखि थाती रहेका आधारभूत समस्याहरू प्रधानमन्त्रीसमक्ष पुर्याउने व्यग्र उत्कण्ठा देखियो ।
शुक्रबार बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीहरूको आवागमन बाक्लिएपछि मात्र स्थानीयले आफ्नै गाउँमा प्रधानमन्त्री आउँदै गरेको सुइँको पाएका थिए । स्थानीय बासिन्दाहरू आफ्ना घरआँगन र सडक छेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र आफ्ना मनका कुरा सुनाउन व्यग्र प्रतीक्षा गरिरहेका थिए ।
प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध ‘अन्नपूर्ण इको भिलेज’ मा बस्ने तालिका रहेको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा उत्साहित देखिए । बाटो छेउमा भेटिएकी स्थानीय ज्ञानु अधिकारीले भनिन्, 'बिहान सुरक्षाकर्मी आएपछि मात्र थाहा भयो । पुराना दलहरूलाई वर्षौँ भोट दियौँ, तर केही भएन । अब नयाँ नेतृत्वले देश र जनताका लागि केही राम्रो गर्छन् कि भन्ने ठूलो आशा छ। उहाँलाई गाडीबाटै भए पनि एक नजर देख्न पाऊँ भनेर कुरिरहेका छौँ ।'
उनले नयाँ राजनीतिक दलहरूले राम्रो काम गर्नुपर्ने बताइन् । अपराध गर्नेलाई विदेशमा जस्तै कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको सुझाव छ।
उनले भनिन्, 'पुरानालाई अब फालियो, नयाँहरूले राम्रो गर्नुहुन्छ कि भन्ने आशा छ । तर अपराध गर्नेलाई विदेशमा जस्तै कडाभन्दा कडा कारबाही गर्ने कानुन बन्नुपर्छ ।'
अस्ताम गाउँ भौगोलिक रूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिँचाइको अभाव हो । विश्वविद्यालयका प्राध्यापक तथा स्थानीय होटल व्यवसायीका अभिभावक नन्दलाल अधिकारीका अनुसार यहाँका बहुसंख्यक बासिन्दा किसान हुन् । तर पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको छ ।
'यो ठाउँ एकदम उच्च भागमा भएकाले मुख्य रूपमा खानेपानीकै ठूलो समस्या छ । हामीले पोखराको नजिकै भएर पनि सिँचाइ अभावमा तरकारी खेती विस्तार गर्न सकेका छैनौँ । यदि सरकारले यहाँ व्यवस्थित खानेपानी र सिँचाइ योजना ल्याइदिने हो भने कृषकहरूले उत्पादन गरेको ताजा तरकारी यहीँका होटल र नजिकैको पोखरा बजारमा सहजै बेचेर आत्मनिर्भर बन्न सक्छन्,' अधिकारीले स्पष्ट पारिन् ।
खानेपानी नभएको ठाउँमा पानीबिना तरकारी खेती सम्भव नरहेको उनले बताइन् । पोखराको नजिकै रहेकाले पानीको व्यवस्थापन भए कृषक आर्थिक रूपमा समृद्ध हुने उनको भनाइ छ ।
उनले भनिन्, 'खानेपानी नै पुग्दैन भने पानीबिना तरकारी खेती सम्भव नै छैन । पोखराको नजिकै भएकाले यहाँ पानीको व्यवस्थापन भए कृषकहरू आर्थिक रूपमा समृद्ध बन्नेछन् ।'
पोखराबाट छोटो दूरीमै रहेको भए पनि अस्ताम पुग्ने मुख्य सडक अत्यन्तै कच्ची र अप्ठ्यारो अवस्थामा छ । स्थानीय रामप्रसाद अधिकारी र शोभाखर अधिकारीले सडक र पिउने पानीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
स्थानीय रामप्रसाद अधिकारीले भने, 'हाम्रो मुख्य अपेक्षा भनेको बाटो नै हो । बर्खामा त पानीको जोहो हुन्छ, तर हिउँदमा काकाकुल हुनुपर्छ । अप्ठ्यारो बाटोले गर्दा बिरामी पर्दा अस्पताल पुर्याउन समेत गाह्रो छ ।'
अर्का स्थानीय शोभाखर अधिकारीले भने, 'अहिलेसम्म यहाँ कुनै प्रधानमन्त्री आउनुभएको थिएन । अहिले बालेनज्यू आउनुभएको छ । उहाँले हाम्रो यो अप्ठ्यारो बाटो कालोपत्रे गरिदिनुभयो र पानीको धारा जोडिदिनुभयो भने हामी गाउँलेको ठूलो कल्याण हुनेथियो । प्रधानमन्त्री हाम्रो गाउँमा आएर नजर राखिदिनुभएकोमा हामी ज्यादै खुसी छौँ । उहाँले हाम्रो बाटो र पानीको समस्या बुझेर काम गरिदिनुभयो भने हामी सधैँ आभारी रहनेछौँ ।'
अस्ताम केवल समस्याको गाउँ मात्र होइन, यो प्रकृतिको अनुपम वरदान पाएको स्वर्गजस्तै पर्यटकीय गन्तव्य हो। यहाँबाट माछापुच्छ्रे हिमाल ऐनामा जस्तै छर्लङ्ग र नजिकै देखिन्छ । यसका साथै अन्नपूर्ण रेन्ज, मनास्लु रेन्ज र धौलागिरि हिमशृङ्खलालाई एकै स्थानबाट ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।
प्राध्यापक नन्दलाल अधिकारीका अनुसार पोखरामा चर्को गर्मी हुँदा पनि अस्ताममा वर्षैभरि शीतल हावापानी रहने भएकाले यो विदेशी तथा आन्तरिक पर्यटकका लागि योग, ध्यान र प्रकृतिको आनन्द लिने उत्कृष्ट केन्द्र बनेको छ । यहाँ रहेका प्राकृतिक ओडार र गुफाहरूको संरक्षण गर्दै उच्च पर्वतीय खेलकुदको पूर्वाधार निर्माण गर्न सके यसले समग्र देशकै अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने स्थानीयको दृढ विश्वास छ ।
प्रधानमन्त्रीको भ्रमणमा विकास निर्माणका माग मात्र उठेनन्, गाउँले महिलाहरूले देशको शान्ति–सुरक्षा र न्याय प्रणालीप्रति समेत गम्भीर चासो व्यक्त गरे । स्थानीय ज्ञानु अधिकारीले देशमा बढ्दो अपराध, बालिका तथा महिला हिंसाप्रति आक्रोश पोख्दै कडा कानुन कार्यान्वयनको माग गरिन् ।
'देशमा साना नानीहरूको बलात्कार र हत्या जस्ता जघन्य अपराध गर्नेहरूलाई जेलमा मात्र थुनेर पुग्दैन, विदेशमा जस्तै कठोरभन्दा कठोर सजाय दिने कानुन बनोस् । बालेनज्यूबाट हामीले सुशासन र कानुनी कडाइको ठूलो आशा राखेका छौँ,' उनले भनिन् ।
पोखराको काखमा रहेको अस्ताम गाउँले प्रधानमन्त्री बालेन्द्र साहको बसाइबाट नयाँ आशाको किरण देखेको छ। प्राकृतिक रूपमा धनी तर पूर्वाधारमा पछाडि परेको अस्तामवासीको यो आवाज ‘पानी, बाटो र न्याय’ सिंहदरबारको नीति तथा कार्यक्रममा कसरी प्रतिबिम्बित हुन्छ, त्यो भने आगामी दिनमा प्रधानमन्त्रीको कदमले नै प्रस्ट पार्नेछ ।