देशभर मनसुनी वायुको प्रभाव, ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यतया बदली रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू-भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका हिमाली र पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा सामान्यतया बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ ।

राति हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

Share News