तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा निकालियो

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको ३ सेन्टिमिटर लामो हेयरपिन इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ ।

रौतहटका ती बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरसमा अड्किएर बसेको हेयरपिन नर्भिकका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुमित अग्रवाल नेतृत्वको चिकित्सक टोलीले निकालेको हो ।

बालकको उपचारमा डा. अग्रवालसँगै एनेस्थेसियोलोजिस्ट डा. प्रज्वल श्रेष्ठ, डा. आरोग्य कँडेल, सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतमसहित ओटी प्राविधिक तथा नर्सहरू सहभागी थिए ।

डा. अग्रवालका अनुसार तीन महिनाको बालकमा इन्डोस्कोपी गर्नु आफैंमा जटिल प्रक्रिया हो । चिकित्सक टोलीले ब्रोङ्कोस्कोपमार्फत पिनलाई पेटको माथिल्लो भागमा ल्याएर थेराप्युटिक इन्डोस्कोपीमार्फत हेयरपिन निकालेको हो ।

बालकका आफन्तले साउन ३१ गते नर्भिक अस्पतालमा उपचारका लागि ल्याएका थिए । चिकित्सक टोलीले करिब १ घण्टा १५ मिनेट लगाएर पेटमा अड्किएको पिन निकालेको थियो ।

पिन निकालेपछि बालकलाई करिब तीन घण्टा चिकित्सकीय निगरानीमा राखिएको थियो । त्यसपछि अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

पाँच दिनसम्म पिन दिसाबाट निस्कने आशामा बसे

बालकका ठूलोबुबाका अनुसार बालककी तीन वर्षकी दिदीको मुखमा पनि हेयरपिन भेटिएपछि आमाले बालकले समेत पिन निलेको थाहा पाएकी थिइन् ।

बालकले हेयरपिन निलेको पाँच दिनसम्म आफैं दिसामार्फत बाहिर निस्कने आशामा परिवारले चिकित्सकसँग परामर्श मात्रै लिएको थियो । तर पाँच दिनसम्म पनि पिन दिसामा नदेखिएपछि बालकका आमाबुबा स्थानीय अस्पताल पुगेका थिए ।

स्थानीय अस्पतालले काठमाडौं रेफर गरेपछि परिवारले बालकलाई प्लेनमार्फत काठमाडौं ल्याएको थियो । काठमाडौंको एक अस्पतालमा परीक्षण गर्दा बालकको पेटमा पिन अड्किएको देखिएको थियो ।

उक्त अस्पतालले नेपालमा उपचार सम्भव नभएको भन्दै भारत लैजान सुझाव दिएपछि परिवारले भारत जाने प्लेन टिकटसमेत काटिसकेको थियो ।

पछि आफन्तमार्फत नर्भिक अस्पतालमा उपचार हुने जानकारी पाएपछि परिवार नर्भिक पुगेको थियो । त्यसपछि डा. अग्रवालसँग सम्पर्क गरी बालकको उपचार गरिएको हो । 

भारत जाने टिकट काटिसकेका परिवार नर्भिकमै उपचार भएपछि खुसी

डा. अग्रवालका अनुसार बालकलाई नर्भिक ल्याउँदा परिवार निकै आत्तिएको थियो । अर्को अस्पतालबाट भारतमा उपचारका लागि लैजान सिफारिस गरिएको थियो ।

‘तीन महिनाका बालकको उपचार प्रक्रिया जटिल हुन्छ । त्यसैले भारत जान भनिएको हुन सक्छ,’ डा. अग्रवालले भने, ‘तर नर्भिकमा उच्च प्रविधि र चिकित्सकको ठूलो टोली भएकाले हामीले यहीँ उपचार सफलतापूर्वक गर्न सक्यौं ।’

भारत लैजान प्लेन टिकटसमेत काटिसकेका परिवार नर्भिकमै उपचार सफल भएपछि खुसी भएका छन् ।

बालकका ठूलोबुबाले भने, ‘भारत लैजान प्लेन टिकट नै काटिसकेका थियौं । नर्भिकमै उपचार हुँदा धेरै खुसी लागेको छ । बाबु अहिले ठीक छ । हामी प्लेन टिकट फिर्ता गरेर घर फर्कियौं ।’

Share News