काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने पूर्वनिर्णयलाई यथावत् राखेको छ ।
पार्टीको विधान, नेपालको संविधान तथा प्रचलित कानुनले निर्धारण गरेको समयसीमा र विशेष महाधिवेशनको निर्णयलाई आधार बनाउँदै महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्नु पार्टीको वैधानिक तथा राजनीतिक दायित्व भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले महाधिवेशनलाई केवल प्राविधिक निर्वाचन प्रक्रियामा सीमित नगरी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको अवसरका रूपमा सम्पन्न गर्ने वातावरण बनाउने निर्णय गरेको छ ।
भदौ महिनामा हुनसक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका अधिवेशन प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सकिने निर्णय पनि कांग्रेसले गरेको छ ।
तर, तल्लो तहका निर्वाचन कार्यतालिकामा हेरफेर भए पनि केन्द्रीय महाधिवेशन भने निर्धारित असोज १६ देखि १९ गतेकै बीचमा सम्पन्न हुने सुनिश्चितता कायम गरिने कांग्रेसले जनाएको छ ।
यसका लागि केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी आवश्यकताअनुसार तल्लो तहका निर्वाचन कार्यतालिकामा सामान्य संशोधन गर्न सक्नेछ ।
महाधिवेशन तयारीका लागि आवश्यक विभिन्न समितिहरू गठन गर्ने तथा ती समितिका संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी पार्टी सभापतिलाई दिने निर्णयसमेत कांग्रेसले गरेको छ ।
कांग्रेसले महाधिवेशनलाई समयमै सम्पन्न गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास, संगठनात्मक नवीकरण र आन्तरिक एकतालाई थप मजबुत बनाउने उद्देश्य राखेको जनाएको छ ।