सर्वोत्तम पेन्ट्सको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनी र नेप्सेबीच बुधबार साधारण सेयर सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम रहेको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

कम्पनीले सर्वसाधारणतर्फ ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत निष्कासन तथा बिक्री गरेको ५ लाख ८० हजार कित्ता अर्थात् १७ प्रतिशत सेयर तथा संस्थापक सेयरधनीहरूले लगानी गरेको २५ लाख ४० हजार कित्ता अर्थात् ७५ प्रतिशत सेयरसमेत गरी कुल ३४ लाख कित्ता साधारण सेयर सूचीकृत गरिएको जनाएको छ ।

नेप्सेको सूचनाअनुसार कम्पनीको दोस्रो बजार कारोबार साउन २८ गतेदेखि सुरु हुनेछ ।

कम्पनीको प्रधान कार्यालय गोदावरी, कैलालीमा रहेको छ। सेयर सूचीकृत भएपछि सर्वोत्तम पेन्ट्सका सेयरधनीले दोस्रो बजारमार्फत सेयर कारोबार गर्न सक्नेछन् ।

Share News