गृहको ठूलो सरुवा : बैतडी र संखुवासभामा नयाँ प्रजिअ, कर्मचारी प्रशासनमा पनि फेरबदल

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन गरेको छ । मन्त्रालयले मंगलबार राति गरेको निर्णयअनुसार बैतडीका प्रजिअ डिजन भट्टराईलाई संखुवासभा सरुवा गरिएको छ भने बैतडीको प्रजिअमा उपसचिव मिना अर्याललाई खटाइएको छ ।

मन्त्रालयले प्रजिअको सरुवासँगै कर्मचारी प्रशासन हेर्ने शाखाको जिम्मेवारीसमेत परिवर्तन गरेको छ । कल सेन्टरमा कार्यरत उपसचिव सुवास न्यौपानेलाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिइएको हो ।

भट्टराई संखुवासभा, अर्याल बैतडी

बैतडीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत भट्टराईलाई संखुवासभाको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको छ । केही समयदेखि प्रजिअविहीन रहेको संखुवासभामा मन्त्रालयले भट्टराईलाई पठाएको हो ।

संखुवासभाका तत्कालीन प्रजिअ ईश्वरीप्रसाद अर्याललाई अन्यत्र सरुवा गरिएपछि उक्त पद रिक्त रहेको थियो । त्यसअघि कप्तानगञ्ज घटनापछि सुनसरीका तत्कालीन प्रजिअ बासुदेव घिमिरेलाई गृह मन्त्रालयमा तानिएको थियो ।

यसैक्रममा प्रशासनिक व्यवस्थापन मिलाउन मन्त्रालयले संखुवासभामा भट्टराईलाई पठाउने निर्णय गरेको हो ।

उता बैतडीको प्रजिअमा नियुक्त अर्याल यसअघि डडेल्धुराका लागि सरुवा भएकी थिइन् । तर डडेल्धुरामा उपसचिव तहकै प्रजिअ कार्यरत रहेकाले उनको सरुवा तत्काल कार्यान्वयन हुन सकेन । त्यसपछि अर्याल गृह मन्त्रालयमै रहेकी थिइन् ।

मन्त्रालयले अहिले उनलाई बैतडीको प्रजिअको जिम्मेवारी दिएको हो ।

कर्मचारी प्रशासनमा न्यौपाने

गृह मन्त्रालयले कर्मचारी प्रशासन शाखाको जिम्मेवारी पनि परिवर्तन गरेको छ । मन्त्रालयको कल सेन्टरमा कार्यरत उपसचिव सुवास न्यौपानेलाई कर्मचारी प्रशासनको जिम्मेवारी दिइएको हो ।

कर्मचारी प्रशासन शाखालाई गृह मन्त्रालयको महत्वपूर्ण शाखाका रूपमा लिइन्छ । जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालयअन्तर्गतका कर्मचारीको सरुवा, पदस्थापन तथा व्यवस्थापनसँग सम्बन्धित काम यही शाखाबाट अघि बढ्ने गर्छ ।

पछिल्लो समय गृह मन्त्रालयका कर्मचारी सरुवा र प्रजिअ खटनपटनका निर्णयमा पटक–पटक फेरबदल हुन थालेपछि कर्मचारी व्यवस्थापनको शैलीमाथि प्रश्न उठ्न थालेको छ ।

विशेषगरी कुनै कर्मचारीलाई एउटा जिल्लामा सरुवा गर्ने निर्णय भए पनि कार्यान्वयनअघि नै अर्को निर्णयमार्फत जिम्मेवारी परिवर्तन हुने तथा सरुवा भएका कर्मचारीलाई मन्त्रालयमै रोक्ने घटनाले निर्णय प्रक्रियामा समन्वयको अभाव देखिएको कर्मचारीहरू बताउँछन् ।

मंगलबारको पछिल्लो निर्णयले भने बैतडी र संखुवासभाको प्रशासनिक नेतृत्वसँगै गृहको कर्मचारी प्रशासन शाखाको कमान्डसमेत परिवर्तन गरेको छ ।

Share News